अष्ट्रेलियाको संसदको एक तिहाइ महिलामाथि यौन दुर्व्यवहार
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९८ पटक पढिएको
अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको पाईएको छ । पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले मन्त्रालयका एक सहकर्मीबाट आफू बलात्कृत भएको आरोप लगाएपछि तयार गरिएको एक प्रतिवेदन अनुसार त्यहाँको संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको हो ।
केही महिनाअघि हिगिन्सले सहकर्मीमाथि बलात्कारको आरोप लगाएपछि दुर्व्यवहारका विभिन्न घटना बाहिर आएका थिए । ‘सेट द स्टान्डर्ड’ (मापदण्ड तय गरौं) शीर्षक राखिएको प्रतिवेदन तयार गर्दा १७ सय २३ जना व्यक्ति र ३३ वटा संघ-संस्थासँग अन्तर्वार्ता लिइएको थियो । प्रतिवेदनअनुसार यौन दुर्व्यवहार खेपेका महिला सांसदको संख्या संसदका कर्मचारीभन्दा धेरै रहेको छ ।
मङ्गलबार प्रकाशित प्रतिवेदन अनुसार अष्ट्रेलियाको संसदमा काम गर्ने तीन मध्ये एक जनाले यौन उत्पीडनको अनुभव गरेको सीएनएनले उल्लेख गरेको छ । प्रतिवेदनमा ५१ प्रतिशत कर्मचारीहरू कुनै न कुनै प्रकारको धम्की (बुलिङ), यौन दुर्व्यवहारको शिकार बनेको वा कर्मचारीमाथि यौन दुर्व्यवहार प्रसास भएको उल्लेख छ ।
यौनिक विभेदसम्बन्धी आयुक्त केट जेनकिन्सले यौन हिंसाका अधिकांश पीडितमध्ये महिलाको संख्या उच्च रहेको बताएकी छिन् । प्रतिवेदनकी लेखिका समेत रहेकी जेनकिन्सले भनिन्, ‘यस्ता अनुभवले पीडित र उनीहरूको समूहलाई लामो समयसम्म असर पर्छ भने मुलुकलाई हानि हुने गरी हाम्रो संसदको कार्यसम्पादन कमजोर हुन्छ’,।
प्रधानमन्त्री स्कट मोरिसनले प्रतिवेदनको निष्कर्ष प्रति ‘डरलाग्दो’ भन्दै आफू अचम्ममा परेको प्रतिक्रिया बताएका छन् । यसअघि मोरिसनमाथि संसदमा कार्यरत महिलालाई असमान रुपमा असर पारिरहेका विषयप्रति ध्यान नदिएको आरोप लागेको थियो । संसदमा पेश गरिएको प्रतिवेदनले नेतृत्व सुधार्नुपर्ने, लैङ्गिक सन्तुलन कायम गर्नुपर्ने र मादक पदार्थ सेवनको सँस्कृति कम गर्नुपर्ने सुझाव पनि दिएको छ ।
तस्बिर: बीबीसी