तिहारको चौथो दिन : म्हपूजा र नयाँ सम्वत् मनाउँदै नेवार समुदाय

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४२० पटक पढिएको

 

तिहारको चौथो दिन आज कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर नेवार समुदायले आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन्। आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्दछन् ।

म्हपूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्नसक्ने ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ। साथै शरीरमा कुनै रोग व्याधि नलागोस्, सधैँ स्वस्थ रहोस् भन्ने कामनासमेत गरिन्छ। 

साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर चोखो पानी छर्किइन्छ । पानीको मण्डला बनाई त्यसको माथि तेलको मण्डला र तेलको माथि भुइसिन (सुन्तला रङको) मण्डला बनाइन्छ। अनि चामलको पिठोको मण्डला बनाई त्यसलाई कालो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाले सजाई मण्डप तयार गरिन्छ। त्यसको माथि खेलुइता (टुप्पिदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ। 

घरका सदस्य क्रमशः  मण्डला अगाडि पारेर बस्छन् । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयरलगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाइएको माला), फूलको माला र सयपत्री फूल राखिन्छ।     

पूजा सकिएपछि क्रममा बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ। त्यसपछि खेलुइता ननिभेकै बेला नकीले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ। रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ।

म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) लिने परम्परा रहेको छ। खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिइन्छ। यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवान राखेर भोज खाने प्रचलन छ। भोज खाइसकेपछि सलादका रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ।

इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगत्को कल्याण गर्नसक्छु। संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको रासससँग बताएका छन् । उनले भने ‘म्हपूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ। त्यसको अघिल्लो दिनअर्थात् औँसीको दिन लक्ष्मी पूजा। जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ। यही सम्पन्ताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो।’

नयाँ सम्वत् 

यसै दिन पारेर नेवारले नयाँ सम्वत् अर्थात् न्हुदँया भिन्तुना समेत मनाउँदै छन् । म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ। म्हपूजाकै अवसर पारेर शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्वत सुरु भएको कथन पाइन्छ ।

गोवर्धन पूजा

आज गोवर्धन पूजा पनि हो । आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यसकारण पनि आजका दिनलाई हलितिहार पनि भन्ने गरेको पाइन्छ  ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित