महामारी पछिको सुरक्षित सहरहरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९७ पटक पढिएको

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले कोरोना महामारी पछिको सुरक्षित सहरबारे इन्डेक्स तयार पारेको छ । जसले विश्वका ६० वटा सहरहरूलाई पूर्वाधार, प्रविधिमैत्री जीवन, व्यक्तिगत सुरक्षा, वातावरणीय प्रभाव र स्वास्थ्यका मापदण्डका आधारमा मूल्याङ्कन गरेको छ। 

त्यस मध्येमा पनि सबैभन्दा बढी सुरक्षित ठहरिएका तीन सहरमा महामारी पछि कस्ता परिवर्तनहरू देखिए? भन्ने बिबिसीले विश्लेषण गरेको छ ।

कोपनहेगन

सूचीमा सबैभन्दा उच्च स्थानमा रहेको डेनमार्कको राजधानी कोपनहेगन वातावरण सुरक्षाका मापदण्डमा अब्बल ठहरिएको छ।

महामारीको समयमा कोपनहेगनका पार्क र हरित क्षेत्र एवं जलमार्गहरू व्यापक लोकप्रिय भएको बताइन्छ ।

नवीकरणीय ऊर्जा, वायु गुणस्तर, फोहर व्यवस्थापन र सहरी क्षेत्रमा रहेको वन लगायतका पूर्वाधारका कारण महामारीसँग जुध्न समेत उक्त सहरलाई सहज भएको बताइएको छ । त्यसै अनुरुप त्यहाँ सन् २०२१ को सेप्टेम्बरयता निषेधाज्ञाहरू पूर्ण रूपमा हटाइएको छ । 

सुरक्षित सहरसम्बन्धी इन्डेक्समा भ्रष्टाचारको नियन्त्रण र सहरको सुरक्षाबीच उच्च सम्बन्ध रहेको थियो। विश्वमै सबैभन्दा कम भ्रष्टाचार रहेको कारण पनि डेनमार्कलाई सहज भएको बताइएको छ ।   

कोपनहेगनमा पर्यटकसहित सबैले निःशुल्क कोभिड  परीक्षण पनि गराउन सक्छन् । यो सहर विश्वका चर्चित सहर र घुम्नै पर्ने सहरहरुमा समेत पर्ने गर्दछ ।

टोरन्टो

क्यानडाको दोस्रो ठूलो सहर टोरन्टो पूर्वाधार र वातावरण सुरक्षामा बलियो अङ्कहरू प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ ।

स्थानीय समुदायले बहुसंस्कृतिको लामो इतिहासले र कैयौँ समुदाय विशेषलक्षित खोप कार्यक्रमहरू अघि बढाई सहरलाई सुरक्षित बनाएको मानिन्छ ।

त्यहाँको स्थानीय वासिन्दा फिलिपे भेरनान्जाले विभिन्न जाति र लैङ्गिक एवं धार्मिक समुदायका व्यक्तिहरूका लागि टोरन्टो ‘खुला सहर’ भएको बताएकी छिन् ।

सिङ्गापुर

डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा र पूर्वाधार सुरक्षामा सिङ्गापुर तेस्रो स्थानमा छ।

महामारीको प्रारम्भिक दिनमा डिजिटल निगरानी र कन्टयाक्ट ट्रेसिङको काम उसले द्रुत गतिमा अघि बढाएको थियो ।

त्यहाँ कुनै भवनमा प्रवेश गर्नुअघि सबै बासिन्दाहरूले आफ्नो ट्रेसटुगेदर टोकन वा फोन एप सेफइन्ट्री चेकइन गर्नु पर्ने बताइन्छ । त्यसका लागि यात्रुहरूले सिङ्गापुर प्रवेश गर्नुअघि ट्रेसटुगेदर टोकन लिनुपर्ने या त्यो जडित भएको फोन भाडामा लिनुपर्ने बिबिसीले जनाएको छ । 

आधुनिक इतिहासमा कोभिड-१९ ले सहरिया जीवनलाई पनि बेस्मारी प्रभाव पारेको हो । 

सन् १९२० को सुरुवातमा स्पेनिस फ्लू देखा पर्दा १४ प्रतिशत मानिसहरू मात्रै सहरमा बस्ने गरेकोमा अहिले उक्त जनसङ्ख्या बढेर ५७ प्रतिशत पुगेको समेत बिबिसीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित