किलाठोक्ने संस्कृतिबाट भित्रिएको दन्तचिकित्साको इतिहास
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३७८ पटक पढिएको
मोनिका वाईबा

असनको एउटा सानो गल्ली अनि त्यसमा एउटा सानो रुखको जराको झुप्पोे । झट्ट हेर्दा दाँतको आकार जस्तो पनि देखिने । अनगिन्ति पुराना पैसाको सिक्काहरुमा ठोकिएको किला । वरिपरि अबिर, कपास,बत्ती र धूप, माटोको पाला अनि विभिन्न फूलको टुक्राहरू छरिएका । ठ्याक्क भन्नुपर्दा “दन्तेश्वरी” वा “वाश्या द्यो”(नेवारी भाषामा) जसको अर्थ हुन्छ दाँतको दुखाई कम गर्ने देवी । अहिले उक्त देवीलाई सीसाले छोपिएर राखिएको छ ।
दाँतमा समस्या आयो भने यहाँ आएर दर्शन गर्नुपर्छ भन्ने गरिन्छ । दाँत सम्बन्धी कुनै पनि समस्या छ भने यता आएर पूजा गरेर यसमा पैसाको सिक्का ठोक्नु पर्छ भन्ने मान्यता रहेको छ । कुनै निश्चित देउताको मूर्ति त छैन, तर यो निकै ठूलो आस्थाको केन्द्र मान्न सकिन्छ । अहिले उक्त रुखको डल्लोमा किला ठोक्ने ठाउँनै छैन । सँगै टाँसिएको भित्ताहरुमा समेत सिक्का र किला ठोक्न थलिएको छ।
खासमा यता पूजा गर्दा किला मात्र ठोक्ने गरिन्थ्यो । सिक्काहरु भने चढाईन्थ्यो मात्र । तर, पछि त्यहाँ सानो ठाउँ भएकाले सिक्काहरु भुईंमा खसेको र बच्चाहरुले समेत उठाएर लग्ने क्रम बढेकोले त्यस माथिनै किला ठोक्ने गरेको पनि भन्ने गरिन्छ ।
यो काठमाण्डूकै पुरानो मन्दिरहरु मध्येको एक हो । निकै पुरानो भएकै कारणले यसमा नेपालको पुराना पुराना पैसाको सिक्काहरु पनि ठोकिएको छ । रुखको बांगो मुडा भएको कारणले “बांगेमुडा” भनिन्छ । सिक्कामा किला ठोकेकै कारण यसलाई “किलागल” पनि भन्ने गरेको पाईए पनि त्यो गलत हो । नेवारी भाषाकै अर्को नाम “थ्यामरु”भनेर पनि यसलाई चिनिन्छ,जसको अर्थ हुन्छ ठाउँ छैन । यो रुखको जरा २०० मिटर पूर्व सम्म फैलिएको जुन भोटाहिटी सम्म छ भन्ने गरिन्छ । यो धेरै लामो भएकोले कतै राख्ने ठाँउनै भएन र यसको नामनै ठाँउ छैन भनेर स्थानीय बासिन्दा भन्ने गर्छन् । यो लिच्छवी कालदेखि यहाँ अवस्थित रहेको स्थानीय बासिन्दाहरुको भनाई छ ।
ईन्द्रजात्राको किम्वदन्ती अनुसार भगवान् इन्द्र आफ्नी आमालाई व्रतका निम्ति आवश्यक पारीजातको फूल लिन मानव रूप धारण गरी काठमाण्डू शहरमा आएको र पारिजातको फूल चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई बीच सडकमा बाँधेर राखेका थिए । आफ्नो लागि फूल टिप्न गएको छोरालाई काठमाण्डू वासीको बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयम् काठमाण्डू आएर छोराको बदलामा पानी पारिदिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् ।
यो त्यही पारिजातको रुखको मुडा हो भन्ने पनि गरिन्छ । त्यसै गरि यो ठूलो पिपलको मुडा हो भन्ने गरेको पनि पाइन्छ। त्यस्तै काष्ठमण्डप निर्माण गर्दा बाँकीभएको काठ यहाँ राखिएको भन्ने पनि गरिन्छ । जसले जे भने पनि यो के को रुख हो ? भन्ने कसैलाई थाहा छैन । यस बारेमा अध्ययन अनुसन्धान भएकै छैन । यद्यपी नेपाल डेण्टल एशोसियसनले यसबारे आफ्नो आधिकारिक वेबसाईटमा थोरै जानकारी राखेको छ ।
पुरातत्व विभाग पनि यसबारे अनविज्ञ छ । पुरातत्व विभागको प्रवक्ता रामबहादुर कुवँर अनुसार यसबारे विभागले कुनै पनि अध्ययन गरेको छैन । यसबारे विभागलाई भन्दा पनि स्थानीयलाईनै बढी जानकारी भएको उनको भनाई छ ।
यसबारे अध्ययन गर्दै जाँदा हामीले त्यहाँका स्थानीय समाजसेवी तीर्थलाल राजभण्डारीले लेखेको “थायमरु त्वा.” नामक किताबको पाण्डुलिपी प्राप्त गरेका थियौं ।
जसको पृष्ठ नं १९ मा, “एउटा रुखको जराको फेदको अंश छ । जुनकति पूरानो हो, अहिले सम्म थाहा हुन सक्या छैन । त्यसलाई मान्छेहरुले देउता मानेर पूजा गर्दै आएका छन् । त्यसमा एउटा पाला, एउटा किला, चामल, पैसा, कपासको डल्लोमा सुन्तला रङको अबिर दलेर पूजा गरिन्छ । त्यस्तो गर्नाले दाँतदुख्न कम हुन्छ र त्यति मात्र नभएर निको पनि भईरहेको स्थानीय वासिन्दा भन्ने गर्छन् । शुरुमा मान्छेहरु यसमा पूजा गरेर मात्र अस्पताल जान्थे । आजकल डाक्टरकोमा गएर मात्र पूजा गर्न आउँछन् । कपासले नागको बिम्ब बनाएर पूजा गर्ने हुँदायसलाई नाग हो पनि भन्ने गरिन्छ ।
अहिले यो रुख भिजेर मक्किएर नाश भएर गईरहेको छ । यो रुख कहाँबाट आएको पनि अहिले सम्म कसैले भन्न सकेको छैन । यो रुख भोटाहिटी सम्म देखेको हुनाले यसलाई निकै ठूलो मानिएको छ । यो रुखयति ठूलो छ कि यसलाई राख्ने कुनै ठाँउनै थिएन रे । यो राख्ने ठाँउ नभएकोले यसको नामनै ठाँउ छैन (थ्या मरु) राखियो भनेर लेखिएको छ । ”
उक्त किताब नेवारी भाषामा वि.सं २०५४ भदौ २१ गते लेखिएको थियो । यो किताब छिट्टै प्रकाशनमा आउने उनकी छोरी तथा समाजसेवी रीता राजभण्डारीको भनाई छ ।
केही समय अगाडि मात्र त्यहाँको सानो अंश चोरी भएको थियो । त्यसमा जडित पूराना पैसाका सिक्काहरु चोरी हुने क्रम बढेको र रुख मक्कीँदै गएकोले पानीबाट सुरक्षित राख्नको सीसाले लागी छोपिएको स्थानीयहरुको भनाई छ । वाश्या द्यो जस्तै काठको मुडामा किला ठोक्ने ठाउँ “चिकंमुगल” (हनुमान ढोकाबाट टेकु जाने बाटोमा) मा पनि छ । त्यसमा पनि किला ठोक्ने गरेको हुँदा स्थानीयहरुले वाश्या द्यो र चिकंमुगलको सम्बन्ध रहेको बताउँछन् ।
नेपालमा दन्त चिकित्साको उदय
धेरै मानिसहरु आफ्नो दाँतमा समस्या भएको भन्दै किला ठोक्न आएको देखेर त्यहाँका स्थानीय बासिन्दा अस्टमान राज भण्डारीलाई निकै उत्सुकता जाग्यो । त्यसपछि उनले त्यहाँ आएका केही भक्तजनहरुको समस्या सुनेर आफैले उपचार गरेर पठाउन थाले । साधारण दुखाई छ भने घरेलु प्रविधिबाटै सहयोग गर्ने गर्थे । हल्लेको मात्र छ भने निकाल्न मद्दत गर्थे। मुख र दाँतको सरसफाई सम्बन्धी केहि कुराहरु समेत बताएर पठाउन थाले ।
उनी कुनै शिक्षित वा तालिम प्राप्त दन्त चिकित्सक थिएनन् । तर दन्तेश्वरीमा आउने मान्छेहरुको समस्या समाधान गर्ने र समाधान गर्न नसके परामर्श मात्रदिएर भएपनि मद्दत गर्न थाले । वि.सं. १८८० सालमा कलकत्तामा एन्ट्रेन्स परीक्षा दिनजाने र परीक्षा पास गर्ने प्रथम विद्यार्थी टोलीमा चन्द्रशमशेर राणा, श्रीनिवास गिरी, केदारनरसिंह राणा, बलवानसिंह प्रधानसँगै अष्टमान राजभण्डारी पनि थिए ।
त्यति बेला उनको काका मान राज भण्डारी राणा परिवारको खरिदार थिए ।उनलाई पनि दाँतको समस्याले सताई रहने र यता अष्टमानले पनि हल्काफुल्का दाँतको उपचार गर्ने हुँदा उनले राणा माझ आफ्नो भतिजलाई तालिमका लागि कलकत्ता पठाउन प्रस्ताव राखेको पारिवारिक स्रोतको भनाई छ । त्यसपछि राणाको पहलमा अष्टमान कलकत्ता गए । तालिमबाट फर्केको केही समय पछिनै उनी नेपालमा दाँतको समस्या समाधान गर्ने पसल खोलेर बस्न थाले ।
त्यस समय दाँतको उपचार तथा चिकित्सालय सम्बन्धि एकदमै फरक र नयाँ प्रयोग भैरहेकोले दन्त चिकित्सालयलाई दाँतपसलनै भनिन्थ्यो । उनले दाँतको परीक्षण तथा उपचार गर्न थाले सँगै राणापरिवारको पारिवारिक दन्त चिकित्सक पनि बने । त्यसपछि बिस्तारै नेपालकै अन्य राजभण्डारीहरुलाई पनि राणाले दन्त परीक्षणको तालिम लिन पठाए । जसमा अस्टमानकै दाजुभाई घनमान राजभण्डारी, शिवमान राजभण्डारी र बजरीबहादुर राजभण्डारी थिए ।
त्यसैगरी भारतमाऔपचारिक शिक्षा सुरु भएपछि उनीहरुकै अर्का दाजुभाई द्वारिका मान राजभण्डारी र बसन्तबहादुर राजभण्डारी पढ्न गए । उनीहरु भने नेपालको पहिलो शिक्षित दन्तचिकत्सक भनेर चिनिन सफल भए ।
बसन्तबहादुर राज भण्डारी भने नेपाल दन्त चिकित्सक संघको संस्थापक तथा पहिलो अध्यक्ष समेत हुन् । त्यसपछि नेपालमै पनि दन्त चिकित्सक तथा दन्त चिकित्सालयहरुले औपचारिक मान्यता पाउन थाले ।
राज भण्डारीहरु नेपालको पहिलो दन्तचिकित्सकको रुपमा स्थापित हुँदै गर्दा राणाहरुको पारिवारिक दन्त चिकित्सक हुने क्रम पनि जारीनै रह्यो । उनीहरुले दाँतको उपचार गर्नुका साथै कस्मेटिक डेन्टिस्ट्रिको कार्य गर्न पनि थाले । राणाहरुलाई सुनको दाँत समेत हालिदिए ।
त्यो समयमा राणाले चिकित्सक लिन घोडा पठाउँथे । चिकित्सकले अलिकति पनि ढिलो गर्यो भने घोडाले खुट्टा बजार्ने गथ्र्यो । घन मान राज भण्डारीको बुहारी मिठाई देवी राज भण्डारी बताउनुहुन्छ । उनि अहिले १०३ वर्षकी हुनुभएको छ ।
दन्त चिकित्सक घन मान राज भण्डारीको चिकित्सालय
करीब ९० वर्ष पुरानो दन्तचिकित्सालयहरु भएको यस ठाउँमा यति धेरै दाँत पसलहरु छन् कि जसले गर्दा यस क्षेत्रलाई दाँत बजार भनेर पनि चिन्ने गरिन्छ । यहाँ नयाँ भन्दा पनि बढी पुरानो दन्त चिकित्सालयहरु छन् ।दन्तेश्वरीको अगाडि मात्र उभिएर गन्यो भने पनि हातको औंलामा गन्न नसकिने दाँतपसल छन् । यहाँ चिकित्सालयहरुमा उपचार गर्ने पुरानो र आधुनिक दुवै प्रविधिहरु देख्न सकिन्छ ।
यस क्षेत्रमा अहिले अस्ट मान राज भण्डारीको दन्तक्लिनिक त छैन तर घन मान राजभण्डारी, शिवमान राजभण्डारी र द्वारिका मान राजभण्डारीको क्लिनिक भने अझै पनि संचालनरत छन् । दन्तचिकित्सक घन मान राजभण्डारीको क्लिनिक उनको मृत्यु पश्चात उनकी श्रीमती बन कुमारी र छोराहरु हुँदै अहिले तेस्रो पुस्तामा उनको नातिहरुले सञ्चालन गरिरहेका छन् ।
त्यसैगरी द्वारिका मान राजभण्डारीको क्लिनिक उनकै छोरा अजय राजभण्डारीले संचालन गरिरहेका छन् । त्यस्तै शिवमान राजभण्डारीको नाति र नेपाल डेण्टल एसोसियसनको १० औं अध्यक्ष डा.सन्तोष मान राजभण्डारीले पनि आफ्नो चिकित्सालयलाई संचालन गरिराखेका छन् ।
उनीहरुले आफ्नो कामलाई पुर्ख्यौली मानेका छन् । पुर्ख्यौली कामनै यही भएको कारण यसलाई नै निरन्तरता दिन ठीक लागेको उनीहरुको भनाई छ । उनीहरुको पसलमा अहिले पनि पुरानो प्रविधिहरु हेर्न पाईन्छ । साथै पुरानो दन्त चिकित्सकहरुको तस्वीर अनि उनीहरुले गर्ने गरेको केही उपचारका विधिहरुको तस्वीर पनि देख्न सकिन्छ।
पहिले दाँत सम्बन्धि हरेक कामहात बाटै गरिन्थ्यो । अहिले भने सम्पूर्ण काम मेसिन बाटै हुन्छ । नेपालमा हाल दुई हजारभन्दा बढी दन्त चिकित्सकहरु छन् । दन्त चिकित्सक र बिरामीहरुको अनुपात नपुगे पनि मानिसहरुमा जनचेतनाको अझै कमि भएकोले त्यति मात्र दन्त चिकित्सकले पनि पुगिरहेको उनीहरुको भनाई छ ।
अझ भन्नु पर्दा दन्तचिकित्सकहरुले काम पाउन गार्हो छ र नेपाल सरकारले यसलाई दोस्रो प्राथमिकता दिएको उनीहरुको गुनासो छ ।