दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध लगाउन सुझाव

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३२९ पटक पढिएको

 

दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले कुकुरको मासु खपतमा प्रतिबन्ध लगाउन सकिने बताएका छन् । कुकुरलाई माया गर्ने भनेर चिनिएका राष्ट्रपतिले पूर्ण प्रतिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक हो ।

प्रधानमन्त्रीसँगको एउटा भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेका थिए ।प्रधानमन्त्रीले अलपत्र छोडिएका जनावरहरूको सुरक्षाका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाहरूबारे जानकारी गराएपछि उनले यस्तो प्रतिक्रिया दिएका बताईएको छ ।

दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरेको बिबिसीले जनाएको छ । त्यहाँ कुकुर र बिरालोलाई क्रूर तरिकाबाट मार्न नपाइने कानुन छ तर त्यसको मासु खान प्रतिबन्धित छैन । हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मासु खान छोड्न थालेका बताईएका छन् । त्यस कारण त्यहाँका तीन ठूला कुकुरको मासु केन्द्रहरू बन्द भइसकेको बिबिसीले जनाएको हो ।

सन् २०२० को एउटा सर्वेक्षणमा ८४ प्रतिशत कोरियालीले कहिल्यै कुकुरको मासु नखाएको वा भविष्यमा नखाने बताएका थिए । कुकुरको मासुमा प्रतिबन्धको माग गरिरहेका पशु अधिकार संस्थाहरूले मूनको भनाइलाई स्वागत गरेका छन् ।

अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनको बेला यो मुद्दाले चर्चा पाउन सक्ने बताइएको छ । केही उम्मेदवारहरूले कुकुरको मासुमा प्रतिबन्ध लगाउनु पर्ने बताइसकेका छन् ।

"दक्षिण कोरियालीहरूले बढ्दो सङ्ख्यामा कुकुरको मासु खाने कार्यलाई संस्कृतिभन्दा पशु दुर्व्यवहारको रूपमा लिइरहेका छन्," कोरिया एनीमल राइट्स एड्भोकेट्सका प्रमुख जीन जे-होङले कोरिया टाइम्सलाई बताएका छन् ।

 

तस्बिर: ईपीए 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित