प्रगतिवादी संस्कृति निर्माणमा योगदान दिएका पाँच स्रष्टालाई सम्मान
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३७२ पटक पढिएको
नेपाली प्रगतिवादी संस्कृति निर्माणमा योगदान दिएका पाँच स्रष्टालाई सम्मान गरिएको छ । कला, साहित्य, गीत-संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँच स्रष्टालाई २४औं सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा जनसांस्कृतिक महासंघ नेपालद्वारा राजधानीमा गरिएको कार्यक्रममा सम्मान गरिएको हो।
सम्मानित हुनेमा ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, चलचित्रकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेवी रुवाली रहेका छन्। उनीहरूलाई नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट सम्मान गरेका हुन् । सम्मानित सबैले ताम्रपत्रसहित जनही दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा महराले समाज रुपान्तरणका लागि संस्कृतिकर्मीले महत्त्वपूर्ण योगदान दिएको बताए । कला, साहित्य, गीतसंगीत, नाटक तथा सिर्जनाका विभिन्न माध्यमबाट स्रष्टाले समाजको प्रगतिशील रुपान्तरणमा निरन्तर आवाज उठाउँदै आएको धारणा राखे । उनले भने, ‘समाजमा रहेको विभेदलाई हटाई प्रगतिशील रुपान्तरणका लागि संस्कृतिकर्मीले निरन्तर खबरदारी गरिरहनुपर्दछ ।’काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन सत्ताले कलाकार च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बसिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा अधिकारी र मञ्जु कुँवरलाई घरमा आगो लगाएर हत्या गरेको थियो । यही दिनको सम्झनामा नेकपा (माओवादी केन्द्र)ले सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै आएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सांस्कृतिक रुपान्तरणबिना समाज परिवर्तन हुन नसक्ने बताए । उनले स्रष्टाले जहिले पनि खराब प्रवृत्तिविरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रगतिवादी संस्कृति निर्माणमा स्रष्टाले सिर्जनात्मक अभियानलाई व्यवस्थित गर्नुपर्ने भनाइ राखे । उनले भने, ‘समाजमा रहेको विभेद, अत्याचार तथा असमानतालाई हटाउन संस्कृतिकर्मीले निरन्तर खबरदारी गर्नुपर्दछ ।’