महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२१ पटक पढिएको

 

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डूको डिल्लीबजारमा भएको थियो । उनले नेपाली साहित्यलाई महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता सहित सयभन्दा बढी कृति दिएका छन् । जसले उनि अन्तर्राष्ट्रियस्तरमा समेत परिचित छन् ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता सहित पूर्वीय र पाश्चात्य दर्शनको संयोजन समेत पाइन्छ । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरून्त कविता लेख्नसक्ने आँशु कवित्वको क्षमता थियो। देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय मानिन्छ ।

महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।

विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैंले अङ्ग्रेजीमा अनुवाद गरेका थिए। उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।

आजका दिन उनलाई हरेक साहित्य प्रेमीहरुले स्मरण गर्ने गर्दछन् । महाकवि देवकोटालाई जन्मजयन्तीको अवसरमा हार्दिक वन्दना !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित