यस वर्षको पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३८ पटक पढिएको

 

यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई दिने निर्णय गरेका छन् । त्यसैगरी पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई दिइने निर्णय भएको छ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आज विहान आफ्नो ट्विटमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनले आफ्नो ट्विटमा लेखेका छन्, ”२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ ।”

दाहालको किताब मोक्षभूमि दासहरूको मुक्तिका विषयमा केन्द्रित छ । त्यसैगरी भजनशिरोमणिका रूपमा परिचित आचार्य लामो समयदेखि संगीत साधनामा तल्लीन छन् । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन–तीन लाख रुपैयाँ छ ।

वि.सं. २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको एउटलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । यसको खास नाम पद्मश्री साहित्य पुरस्कार हो।

शुरूमा यसमा देशभित्रका कृतिमात्र पर्थे भने वि.सं. २०६६ सालदेखि देशभरिबाट मात्र नभएर विदेशबाट नेपाली भाषामा लेखिएका कृतिलाई दिन थालिएको हो। त्यसैगरी प्रतिष्ठानले वि.सं. २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ । प्रतिष्ठानले पुरस्कार र सम्मानको नाम अध्यक्ष लामिछाने जन्म-गाउँ पदमपुरबाट लिएको हो । दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गर्ने गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित