नेपालमा क्रिकेटको आगमन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५६३ पटक पढिएको

सज्जन राज पाेख्रेल । वर्ल्ड दैनिक ।

क्रिकेटको इतिहासलाई नियाल्दा

नेपालमा क्रिकेट बीसौं शताब्दीमा आएको हो भन्ने मान्यता छ । कुरा प्रथम विश्व युद्ध भन्दा पछाडि र दोस्रो विश्व युद्ध भन्दा अगाडिको हो । नेपालमा राणा शासनले किलो गाडेर बसेको थियो । त्यसैबेला तेह्रौं राणा प्रधानमन्त्री चन्द्र शमशेरको हुकुमत थियो । सामन्ती व्यवस्था भएकाले राणा र राजाका छोरा नाति बेलायत पढ्न जाने चलन थियो । बेलायतमा त्यसबेला जताततै क्रिकेट खेलिन्थ्यो र रुचाईन्थ्यो पनि । राजाका छोरा नातिले बेलायतीले क्रिकेट खेलेको हेर्थे र खूब रमाउँथे ।

सन् १९२० तिर केही राणाका र राजाका छोरा नातिहरु पढाई सकेर नेपाल आए । त्यसपछि शुरु भयो नेपालमा क्रिकेट इतिहास । नेपालमा क्रिकेट राणाहरुको झोला हुँदै प्रवेश गर्यो । सन् १९२० को दशकको कुरा हो तत्कालिन लेफ्टिनेण्ट जनरल मदन शमशेर जबराले नेपालमा क्रिकेट खेलको शुरुवात गरेका थिए । मदन शमशेर, राणा प्रधानमन्त्री चन्द्र शमशेर र महारानी बालकुमारी देवीका कान्छा पुत्र थिए । मदन शमशेर जबरालाई नेपाली क्रिकेटका पिता भनेर पनि चिनिन्छ ।

मदन शमशेर सन् १९४७ मा नेपालको पहिलो फुटबल कमिटिका प्रेसिडेण्ट पनि भएका थिए । सन् १९५७ मा उनको मृत्यु पश्चात् उनकी श्रीमती जगदम्बा कुमारी देवीबाट मदन पुरस्कार र मदन पुरस्कार पुस्तकालय स्थापना गरिएको थियो ।

क्रिकेट नेपालमा भित्रिए पनि राजा राणा र उनीहरुकै भारदारमा मात्र सिमित थियो । जनरल बर्म शमशेरको बबरमहल र जनरल नर शमशेरको जावलाखेल टीमलाई नेपालको पहिलो क्रिकेट टीमको रुपमा हेरिन्छ । नर शमशेरको नेपाली टीम पहिलोपटक इण्डियाको पटनामा गएर खेलेको भन्ने मान्यता छ ।

क्रिकेट एसोशिएशनको स्थापना

क्रिकेट खेललाई अघि बढाउने आवश्यकता देखेर सन् १९४६ मा क्रिकेट एसोशिएशनको स्थापना गरियो । सन् १९५१ को आन्दोलन अर्थात् २००७ सालको क्रान्तिपछि नेपालमा राणा शासन सदाका लागि अन्त्य भयो । त्यसपश्चात् क्रिकेट सर्वसाधारणको घरघरमा पुग्यो । क्रिकेट एसोशियशन नेपाललाई नेपालको राष्ट्रिय खेलकूदमा समावेश गरियो ।

सन् १९९० को दशक पछि यातायता र सञ्चारको विकाससँगै क्रिकेट उपत्यकामा मात्रै सिमित रहेन । सन् १९९४ मा नेपालले एशियन क्रिकेट काउन्सिलको सदस्यता प्राप्त गर्यो । सन् १९९६ मा नेपाल अन्तर्राष्ट्रिय क्रिकेट आई.सि.सि. को एसोसियट मेम्बर बन्न सफल भयो । सन् १९९६ मा मलेशियामा भएको ए.सि.सि ट्रफीमा सहभागी भएसँगै नेपाली क्रिकेट टीमको अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ भएको थियो । त्यतिबेला टुँडीखेल र सानो गौचरनमा क्रिकेट खेल्ने गरिन्थ्यो । १९९६ मा आई.सि.सि. को मान्यता पाएसँगै त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको खुला चउरलाई क्रिकेट मैदानको रुपमा विकास गरियो । त्यसैको आडमा १९९८ मा नेपालले दोस्रो ए.सि.सि टुर्नामेण्ट आयोजना गर्यो जसमा बंग्लादेश विजय भएको थियो ।

नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा

सिंगापुरमा आयोजना गरिएको २००२ को ए.सि.सि  ट्रफी टुर्नामेण्टमा नेपाल फाइनलमा युएईसँग खेल्दै तीन विकेटले पराजित भएको थियो । नेपालले २००३ मा ए.सि.सि  इमर्जिङ् नेशन्स टुर्नामेण्टको आयोजना गर्यो, जसमा नेपालले भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । त्यो खेलबाट राजु खड्का अन्तर्राष्ट्रिय खेलमा सेञ्चुरी हान्ने पहिलो नेपाली क्रिकेटर भए । उनले नट आउट भुटान विरुद्ध ५० बलमा १०५ रन बनाउन सफल भएका थिए ।

२००६ को ए.सि.सि ट्रफी भने नेपालको लागि विशेष रह्यो । म्यानमारसँगको खेलमा नेपालले म्यानमारलाई मात्र १० रनमै अलआउट गरेको थियो । सन् २००८ बाट नेपालले आइसिसि वल्र्ड क्रिकेट डिभिजन ५ मा सहभागिता जनाएको थियो । सन् २००८ को यो खेलमा नेपाली बलर मेहबुब आलमले मुजाम्बिकसँगको खेलमा १० विकेट लिएर गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गराउन सफल भएका थिए ।

सन् २०१० को आइ.सि.सि वल्र्ड क्रिकेट लिग डिभिजन ५ को खेलमा नेपालले अमेरिकालाई हराउँदै डिभिजन ४ मा उक्लन सफल भएको थियो ।
सेप्टेम्बर २०१२ को आइ.सि.सि वल्र्ड क्रिकेट लिग डिभिजन ४ मा नेपालले टुर्नामेण्टको छ वटा खेल जित्दै डिभिजन ३ मा उक्लन सफल भएको थियो ।
सन् २०१३ मा बर्मुडामा भएको डिभिजन ३ को खेलमा पनि विजय हुँदै नेपाल डिभिजन २ मा पुगेको थियो । यो जीतले गर्दा नेपाल २०१४ वर्ल्डकप क्वालिफायर खेल्नका लागि योग्य भएको थियो ।

यसरी महादेशीय र विश्व स्तरको उपाधि चुम्दै नेपालको विश्वकपको यात्रा तय भएको थियो । अन्ततः २०१४ मा बंग्लादेशमा भएको आइ.सि.सि वल्र्ड कप टी २० मा पहिलो पटक नेपाल सहभागी भयो ।

२०१४ जुन २८ मा नेपाललाई आई.सि.सि वल्र्ड कपले टी २० स्टाटस दियो, तर २०१५ को टी २० क्वालिफायरमा छनोट हुन नसक्दा टी २० को स्टाटस खोसिएको थियो । २०१८ मा नेपालले चार वर्षका लागि एकदिवसिय र टी २० को दुवै श्रृंखलामा घरेलु मैदानमै हराएर इतिहास रचेको थियो ।

नेपालले आफ्नो पहिलो तीनवटा ओडिआई सिरिज युएईसँग खेलेको थियो जसमा दुई पटक नेपालले जितेको थियो ।

हालै मात्र नेपालले सन् २०२०-२१ नेपाल ट्राई नेशन सिरिज अप्रिल २१ मा आयोजना गरेको थियो जसमा नेपाल, नेदरल्याण्डस् र मलेशिया खेलेका थिए ।  नेपालले फाइनलमा नेदरल्याण्डस्लाई ९ विकेटले हराउँदै जीत हासिल गरेको थियो । यो खेलमा नव खेलाडी कुशल भुर्तेल प्लेयर अफ द सिरिज अवार्डबाट सम्मानित गरिएको थियो ।

नेपाली क्रिकेटको समालोचनात्क दृष्टि

नेपाली क्रिकेट टीमका यी सबै सफलता पुरुष राष्ट्रिय टीमका हुन् । यद्यपि नेपालमा महिला, दृष्टिविहीन, बहीरा हरुको राष्ट्रिय टोलीले उल्लेखनीय सफलता हासिल गरेको थियो ।

यसरी छोटो समयमै आफ्नो मेहनत र लगनले नेपाली क्रिकेट टीमले नेपाल र नेपाली क्रिकेटलाई विश्व सामु ज्वाज्यल्यमान बनाएको छ ।
दुखको कुरो भने नेपाली क्रिकेट टीमको अभिभावकको रुपममा भएको क्यान जहिले आन्तरिक विवादमा फँसीरह्यो । अप्रील २०१६ मा युएइमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिको बोर्ड बैठकले आन्तरिक विवादको कारण देखाउँदै क्यानलाई निलम्बन गरेको थियो । सरकारी हस्तक्षेप र निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै आईसिसिले आर्टिकल २.९ अनुसार क्यानलाई निलम्बन गरेको थियो ।

आइसिसिले निलम्बन गरेको साँढे तीन वर्षपछि क्यानलाई २०१९ मा सर्त फुकुवा गरिएको थियो । त्यस्तै नेपाली क्रिकेटको अर्को चुनौती खेल मैदान हो । सरकारी स्तरबाट बनाउन सुरु गरिएको मूलपानी क्रिकेट स्टेडियमको काम दशकौं बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

नेपालले क्रिकेटमा मारेको फड्को र खेलाडीको सम्मान गर्दै कलाकार तथा समाजासेवी धुर्मुस सुन्तलीको जोडीले सम्पूर्ण नेपालीहरुको सहयोगमा चितवनमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न रंगशाला निर्माण गरिरहेको छ । आशा गरौं नेपालमा अब केही वर्ष भित्रै काठमाण्डूको मूलपानी, धनगढीको फाप्ला र चितवनको गौतम बुद्ध रंगशालाको काम सम्पन्न हुने छ र नेपाली क्रिकेटको स्वर्ण युग सुरु हुने छ ।

फाेटाे – नेपाल टाइम्सबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित