चीनद्वारा नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँभन्दा बढी अनुदान
- वर्ल्ड दैनिक
- १ साल अघि
- १४९ पटक पढिएको
चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।यसैबीच, नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै, उनले रसुवागढी र तातोपानी सीमानाकामा वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्ण रूपमा सञ्चालन गर्न सहमति जनाएका छन् ।
वार्ताका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीले सम्बद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसकेका छन् । चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिएका थिए । रासस