सरकारले आफन्त बाहेकका व्यक्तिलाई मिर्गौला दान गर्न निषेध गर्ने कानुन संशोधन गर्दै
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३०४ पटक पढिएको
मिर्गौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या पर्दा आफन्त बाहेक अन्य अंग दान गर्ने कानुनी व्यवस्था हुनुपर्ने बहस भइरहेको छ । आफन्त बाहेक मृगौला दान गर्न निषेध गर्ने नेपालको कानुनमा संशोधन भएमा मिर्गौला रोगीको बढ्दो संख्याको उपचार सहज हुनेछ ।

विश्व मृगौला दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार किष्ट मेडिकल कलेजले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण्ले कानुन संशोधन गरेर अवरोध हटाउन सरकार तयार रहेको बताए । आफन्तले बाहेक मिर्गौला दान गर्न नपाइने व्यवस्था परिमार्जन गरे मिर्गौला रोगीको बढ्दो संख्याको उपचार सहज हुने उनको भनाइ छ ।
किष्ट मेडिकल कलेजका डा. दिव्यासिंह शाहले मिर्गौला दाता नहुँदा प्रत्यारोपणका लागि विदेश जानुपर्ने अवस्था रहेको बताए ।
उच्च रक्तचाप, मधुमेह र तनावपूर्ण जीवनशैली र अस्वस्थकर खानपानले मृगौला बचाउन गाह्रो हुने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मृगौलाको समस्या रहेको छ भने प्रत्येक वर्ष तीन हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ भने सात हजार डायलासिस गरी प्रत्यारोपणको पर्खाइमा छन् ।