ब्रिटेनले सिरियामा रहेको ‘शत्रुपक्षको’ ड्रोन खसाल्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९७ पटक पढिएको
ब्रिटेनको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको छ । झण्डै ४० वर्षअघिको फोल्कल्याण्ड युद्धयता पहिलोपटक ब्रिटिश सेनाले शत्रुको विमानलाई निशाना बनाएको हो ।
ब्रिटेनको रक्षा मन्त्रालयका अनुसार ३ दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको थियो । बीबीसीका अनुसार रक्षामन्त्री बेन वालेसले उक्त हमलाले हवाई क्षेत्रमा शत्रुलाई निशाना साँध्न सक्ने आरएएफको सामर्थ्य प्रदर्शित गरेको बताएका छन् ।
साइप्रसस्थित आफ्नो अखडाबाट नियमित गस्तीमा रहेका दुईवटा एफजीआर फोर जेटलाई मङ्गलवार एउटा सानो ड्रोनमाथि अनुसन्धान गर्न भनिएको थियो । पाइलटहरूले त्यसलाई पहिचान गरे र आकाशबाट छोटो दुरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रको प्रयोग गरेका बीबीसीले उल्लेख गरेको छ । इराक नजिकैको सीमा क्षेत्रमा उक्त घटना भएको थियो ।