हमिद कारजाईले तालिबानलाई काबुलमा बोलाएको खुलासा
- वर्ल्ड दैनिक
- १ साल अघि
- १०७ पटक पढिएको

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले तालिबानले काबुल कब्जा गरेको नभएर उनीहरुलाई राजधानी बोलाइएको बताएका छन् । कारजाईले एक अन्तर्वार्ताका क्रममा तालिबानले सत्ता कब्जा नगरेको बताएका हुन् ।
कारजाईले मुलुकमा भद्रगोल नहोस् र जीउधनको रक्षा होस् भनेर तालिबानलाई काबुल आउन निम्तो दिएको पनि अन्तर्वार्ता मार्फत खुसाला गरेका छन् । उनले दोहामा आफू र सरकारका प्रमुख वार्ताकार अबदुल्लाहले तालिबान नेतृत्वसँग कुराकानी गरेर उनीहरूका लडाकुलाई नियन्त्रित अवस्थामा राजधानी प्रवेश गर्न दिने सहमति गरेको बताएका छन् ।
उनका अनुसार अगस्ट १४ गतेदेखि नै सहमतिका लागि तयारी भइसकेको थियो । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार कारजाई र अबदुल्लाहले राष्ट्रपति अशरफ गानीलाई भेटेर अर्को दिन शक्ति बाँडफाँडसम्बन्धी सहमतिका लागि दुवै जना दोहा जान मन्जुर भएका थिए । समाचारमा त्यतिबेलासम्म तालिबान लडाकु काबुलको बाहिर भागमा आइसकेका तर, कतारस्थित तालिबान नेतृत्वले विद्रोही लडाकुहरू सहमति नभइन्जेलसम्म काबुल बाहिरै रहने बचन दिएको पनि कारजाईले बताएका छन् ।
उनका अनुसार अगस्ट १५ गते बिहान कारजाईले दोहा जाने अन्य १५ जनाको सूची पर्खिरहेका थिए । मध्यान्हतिर तालिबानले उनलाई शहर प्रवेश गर्ने कुनै योजना नरहेको र सरकार यथा अवस्थामै रहने बताएको थियो । तर पौनै ३ बजेसम्म गनीले काबुल छोडिसके पछि आफूले रक्षा मन्त्री तथा गृह मन्त्रीलाई फोन गरेको र काबुलका प्रहरी प्रमुखलाई खोजेका पनि थिए । तर सबै जनाले राजधानी छोडिसकेका थिए ।
उनले गनी काबुलमै रहेको भए शान्तिपूर्ण संक्रमणका लागि एउटा सहमति हुन सक्ने बताएका छन् । तालिबानलाई काबुलमा प्रवेश गर्न दिने भनेर सहमति हुन लागेको अन्तिम क्षणमा गनीले सुटुक्क र एक्कासी अफगानिस्तान छोडेको उनको भनाइ थियो । तस्बिर : एपी