बेलायती यात्रुमाथि फ्रान्सको रोक

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २२१ पटक पढिएको

 

फ्रान्सले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिनका लागि बेलायती यात्रुमाथि रोक लगाएको छ । बिहीबार फ्रान्स सरकारले एक विज्ञप्ति जारी गर्दै शनिबार मध्य रातदेखि बेलायतबाट कामको सिलसिलामा वा भ्रमण गर्न आउने यात्रुलाई रोक लगाउने जानकारी गराएको हो । 

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार  अन्य प्रयोजनका लागि बेलायतबाट फ्रान्स आउने व्यक्तिले भने यात्रा गर्नुपर्ने आवश्यक कारण खुलाउनु पर्ने विज्ञप्तिमा उल्लेख छ । तर फ्रान्सेली र ईयू नागरिकले बेलायतबाट फ्रान्स आउन सक्ने सरकारको भनाइ छ ।

बेलायतबाट फ्रान्स फर्किने नागरिकले २४ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनु पर्ने र सबै यात्रुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने फ्रान्स सरकारका प्रवक्ता गेब्रियल अट्टलले बताए । ‘फर्किने मानिसले सम्बन्धित एपमा नाम दर्ता गरी आफूले चाएको स्थानमा ७ दिन सेल्फ-आइसोलेशनमा बस्नु पर्नेछ’, उनले भने ।

तर फ्रान्समा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको खण्डमा सेल्फ-आइसोलेशनको अवधि ४८ घण्टामा झार्न सकिने पनि अट्टलको भनाइ थियो । बेलायतमा दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेपछि फ्रान्सले पछिल्लो कदम चालेको हो ।

बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या कोभिड महामारी सुरु भएयताकै धेरै हो । त्यहाँ नयाँ भेरियन्ट ओमिक्रोनका १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । निकै संक्रामक मानिएको ओमिक्रोनका संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले संक्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् ।

युरोपमा समेत ओमिक्रोन त्रास बढिरहेको छ । बुधबार मात्रै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले ईयूमा आबद्ध २७ मुलुकमा मध्य जनवरीसम्म ओमिक्रोन प्रमुख भेरियन्ट भएर देखा पर्ने चेतावनी दिइसकेकी छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित