रेमिट्यान्स घट्ने क्रममा सुधार भएन : राष्ट्र बैंक
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९५ पटक पढिएको
नेपाली अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने रेमिट्यान्स घट्ने क्रममा सुधार नभएको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८ साउनदेखि कात्तिकसम्मको अर्थतन्त्रको स्थितिबारे एक अध्ययनमा रेमिट्यान्स घट्दै गएको पाईएको हो ।
अध्ययन अनुसार साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स मूख्य समय मानिने दशैँमा समेत ८ प्रतिशत हाराहारीले घटेको थियो भने कात्तिकमा पनि पुनः ७.५ प्रतिशतले घटेको छ ।
साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिमा भन्दा ७.५ प्रतिशतले कम भएको अध्ययनमा उल्लेख छ । आर्थिक वर्ष ०७७/०७८ को साउनदेखि कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यस वर्षको कात्तिकमा भने ७३ अर्ब रुपैयाँ र असोजमा ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
यस वर्षको साउनदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या बढेर ९६ हजार ३ सय ८२ पुगेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत वर्ष भन्दा २४९.१ प्रतिशतले बढेर ५९ हजार ७२३ पुगेको छ ।
त्यसै गरि अध्ययन अनुसार विदेशी मुद्राको सञ्चिती घटेको र मूल्यवृद्धि चाहिँ तोकिएको ६ प्रतिशत सीमाभन्दा कम देखिएको छ ।