काठमाडौंमा चिकित्सकहरुको आज पनि प्रदर्शन जारी
- वर्ल्ड दैनिक
- २ महिना अघि
- १०७ पटक पढिएको

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले आज पनि प्रदर्शन जारी राखेका छन्। माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गर्दै नियमित स्वास्थ्य सेवा प्रवाहमा आउन सक्ने अस्वाभाविक परिस्थितिप्रति सरकार जिम्मेवार हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन्। सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग राखेका छन्।

माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा समेत मागेका छन्। ‘डाक्टर कुट्ने कहिलेसम्म ? ’,‘डाक्टर कुट्न पाइदैन’,‘नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने’ लगायतका प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन्। राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए ।
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीले भने चिकित्सक संघसँग गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरूलाई लक्षित गरी सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई कारबाही हुनुपर्ने बताएका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही नगरिएको अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीर रूपमा प्रभावित हुने उनको भनाइ छ।