नेपाली क्रिकेट टोलीले बनाएको कीर्तिमान के के हुन् त ?

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • १५९ पटक पढिएको
नेपाली क्रिकेट टोलीले बनाएको कीर्तिमान के के हुन् त ?

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपाली पुरुष क्रिकेट टोलीले कीर्तिमान नै कीर्तिमान बनाएको छ। चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा जारी एसियाली खेलकुदको बुधबार खेलिएको मंगोलियाविरुद्धको खेलमा नेपालले उक्त कीर्तिमान कायम गरेको छ।

नेपालले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पाली (इनिङ्स) मा मंगोलियाविरुद्ध कुल २६ वटा छक्का हिर्काएर सो कीर्तिमान आफ्नो नाम गरेको हो। यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक २२ वटा छक्का हिर्काउने राष्ट्रको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ तारिखमा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा २२ वटा छक्का हिर्काएको थियो । मंगोलियाविरुद्धको उक्त खेलमा नेपाली ब्याट्सम्यान कुशल मल्लले सर्वाधिक १२ वटा, दीपेन्द्रसिंह ऐरीले पनि ८ वटा र कप्तान रोहित पौडेलले ६ वटा छक्का प्रहार गरेका हुन्।

त्यस्तै मंगोलियाविरुद्धको खेलमा नेपाल छक्का र चौकाको मद्दतले एकै पालीमा सर्वाधिक रन जोड्ने राष्ट्र पनि बनेको छ। नेपालले २६ छक्काका अतिरिक्त १४ वटा चौका प्रहर गर्न सफल भएको छ। यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा छक्का र चौकाको मद्दतले एकै पालीमा सर्वाधिक रन बनाउने राष्ट्रको कीर्तिमान भारतको नाममा थियो। अब यो कीर्तिमान पनि नेपालले आफ्नो नाम गरेको छ।

त्यस्तै नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको छ। टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहास नेपालले उक्त खेलमा सबैभन्दा ठुलो अन्तरले हराएपछि विश्व कीर्तिमानी जित हासिल गरेको हो।

त्यस्तै टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले ३५ बलमा शतक बनाएका थिए। सो कीर्तिमान पनि अब नेपालको नाममा आएको छ। नेपाली टोलीका बायाँहाते ब्याट्सम्यान कुशल मल्लले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काउदा ३४ बलमा शतक पुरा गरि सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाम गरेका छन्।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पनि बनाए । ऐरीले केवल नौ बलमा अर्धशतक पुरा गरेका हुन्।

साथै दीपेन्द्र सिंह टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक स्ट्राइक रेटसहित रन बनाउने खेलाडी पनि बनेका छन् । मंगोलियाविरुद्ध केवल १० बलमा अविजित ५२ रन बनाउँदा दीपेन्द्रको स्ट्राइक रेट ५२० रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित