एकै ठाउँमा ४१४ जनाले गरे रक्तदान
- वर्ल्ड दैनिक
- १ साल अघि
- ४७९ पटक पढिएको
रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन्। यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए।
रक्तदातामध्ये तीन सय ५२ पुरुष र ६२ जना महिला रहेका छन् । तीमध्ये दुई सय ३९ जना नयाँ रक्तदाता हुन्। जसमध्ये दुई जना फरक क्षमताका हुनुहुन्थ्यो । क्लबले ठूलो सङ्ख्यामा पहिलोपटक रक्तदान गर्ने वातावरण सिर्जना गरेको क्लबका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो।
रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरमा रक्त सङ्कलन केन्द्र (ब्लड बैंक) स्थापना गर्न लागेको बताउनुभयो । सबै वडालाई वर्षमा तीन पटक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। रगतको चरम अभाव भएको अवस्थामा मानवीय सेवामा जुटेकोमा रोटरीलाई उहाँले धन्यवाद दिनुभयो।
न्यू क्यापिटल कलेज रत्ननगरको प्राङ्गणमा आयोजित कार्यक्रमलाई रोट–याक्ट क्लब अफ रत्ननगर, इन्ट–याक्ट क्लब अफ स्काइराइडर, स्पाउस क्लब अफ रत्ननगर र इन्ट–याक्ट क्लब अफ न्यू क्यापिटल कलेजले सहयोग गरेका थिए।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गर्मी मौसममा रगतको कम भइरहेको अवस्थामा भएको ठूलो रक्तदान कार्यक्रमले धेरै बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ। नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले यो वर्षको एकै दिन एकै ठाउँमा सबैभन्दा बढी रगत सङ्कलन भएको जानकारी दिनुभयो।