पुराना गहना मर्मत गरी तीज मनाउँदै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४०९ पटक पढिएको
पुराना गहना मर्मत गरी तीज मनाउँदै
कैलाली : हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ । गाउँघरमा दिदीबहिनी जम्मा हुने र दर खाएर नाचगान गर्नेक्रम जारी छ । तीज नजिकिएपछि महिला आवश्यक लुगाकपडा र गरगहनाको जोहो गर्न थालेका छन् । विगतमा गहनामा धेरै रुचि राख्ने महिला पछिल्ला केही वर्षयता गहनामा कम रुचि राख्न थालेका छन्।
आर्थिक अभाव र सुनको मूल्य उच्च भएपछि नयाँ गहना खरिद गर्न नसकेको कतिपय महिलाको भनाइ छ । हरेक वर्ष तीजमा नयाँ गहना किन्ने कैलालीकी रिता शर्माले यस वर्ष पुराना गहना नै लगाउने तयारी गरेको सुनाउनुभयो । “विगतमा तीजमा एउटा नयाँ गहना किन्ने गर्थे”, उहाँले भन्नुभयो, “सुनको मूल्य धेरै बढेकाले किन्न सकिएन । पछिल्ला वर्ष व्यापार खासै नचलेकाले आर्थिक समस्या पनि छ।”
विगतका वर्षमा तीजका लागि भनेर महिनौँदिनअघिदेखि सुनचाँदी पसलमा गरगहना खरिद गर्नेको निकै भीड लाग्ने गरेकामा यस वर्ष कारोबार न्यून मात्र भएको कैलालीका सुनचाँदी आभूषण सङ्घका अध्यक्ष देवबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार तीजको रौनकता भित्रिसक्दा पनि सुनको कारोबार भएको छैन ।
“पहिला तीज भनेपछि महिला पसलमा पालो कुरेर गहना बनाउँथ्ये, नयाँ गहना खरिद गर्नेको पनि भीड हुने गथ्र्यो”, सुनारले भन्नुभयो, “गत वर्षबाट कारोबार खासै भएको छैन । अहिले सुनचाँदी व्यवसायी विस्थापित हुने चिन्ता बढेको छ ।” बजारमा महिलाहरुको चहलपहल बाक्लिए पनि सुनचाँदी व्यवसायीलाई हर्षित बनाउन नसकेको उहाँको भनाइ थियो ।
यतिबेला सुनचाँदी पसलमा गहना किन्नेभन्दा आपूmसँग भएका पुराना गहना मर्मत गरी लगाउनेको सङ्ख्या बढी रहेको सालुन सुनचाँदी पसलका सञ्चालक नारायण साहुले बताउनुभयो । आर्थिक अभाव, कोरोनाका समयमा काम नहुँदा भोगेका समस्या, सुनको मूल्यमा वृद्धिलगायत कारणले सेवाग्राहीले नयाँ भन्दा पुराना गहना मर्मत गरी लगाउन थालेका उहाँको भनाइ थियो । “हामी व्यवसायीले पनि महँगो भएका कारण धेरै सुन किन्नसक्ने अवस्था छैन”, साहुले भन्नुभयो, “उपभोक्तासँग रकम भए पो कारोबार चल्छ । सायद नभएर नै होला व्यापार छैन ।”
विगतका वर्षमा तीजलाई लक्षित गरी सुनचाँदीको राम्रो कारोबार गरेकामा यस वर्ष करोबार ठप्प भएको देउती सुनचाँदी पसलका सञ्चालक केशवकुमार खातीले बताउनुभयो । “नेपालमा देखिएको कोराना महामारी पश्चात आर्थिक अभाव भएको छ । त्यसको असर सुनचाँदी व्यवसायमा पनि परेको छ”, उहाँले भन्नुभयो, “कारोबार भए पो व्यापारमा उत्साह हुन्छ । यही अवस्था आए सुनचाँदी व्यावसायी विस्थापित हुनुपर्ने अवस्था आउँछ ।”
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित