पुरानो संस्कृति जोगाउँदै नयाँ पुस्ता

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १५१ पटक पढिएको
पुरानो संस्कृति जोगाउँदै नयाँ पुस्ता

दैलेख : दैलेख सदरमुकामका विभिन्न ठाउँमा सामाजिक सद्भाव कायम राख्दै एकमहिने वर्षे मेला सञ्चालन गरिन्छ । सयौँ वर्ष पुरानो मानिएको वर्षे मेला गाँठेमङ्गलको सुरुआतसँगै एक महिनासम्म सञ्चालन हुने प्रचलन छ । परम्परागतरूपमा नेवार समुदायले परापूर्व कालदेखि मनाउँदै आएको वर्षे मेला नयाँ पुस्ताको लगाव बढ्दै गएको देखिन्छ ।

अहिले वर्षे मेला सबै जातजातिका लागि साझा पर्वका रूपमा विकसित भएको छ । केही वर्षअघिसम्म दैलेख सदरमुकाम बसोबास गर्ने नेवार समुदायले वर्षे मेलालाई उल्लासका साथ बनाउने प्रचलन थियो । पुरानो संस्कृति विस्तारै लोप हुँदै गएपछि यसको महत्व बचाउन पछिल्ला वर्षमा नयाँ पुस्ता जागरूक भएका हुन् । केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा मात्र सञ्चालन गरिने वर्षे मेला अहिले ११ वटै स्थानीय तहका विभिन्न बजारमा समेत सञ्चालन गर्ने गरिन्छ ।

नयाँ पुस्ता परम्परागत संस्कृतिका जोगाउन लागेको भए पनि संस्कृतिका नाममा विकृति फैलाउँदै गएकामा यहाँका अगुवाले चिन्ता व्यस्त गर्नुभएको छ । आपसी सद्भाव कायम गर्दै सञ्चालन गरिने एकमहिने वर्षे मेलाका नाममा विकृति फैलँदै गएकोप्रति नारायण नगरपालिका–१ का पूर्ववडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठले चिन्ता व्यस्त गर्नुृभयो ।

उहाँले पुरानो संस्कृतिलाई जोगाइ राख्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “वर्षे मेलालगायतका पुराना संस्कृति जोगाउन युवाको भूमिका महत्वपूर्ण हुन्छ, एक महिने वर्षे मेला खास नेवार समुदायको हो, संस्कृतिका नाममा सञ्चालन गरिने मेला महोत्सवमा विकृति फैलँदै गएको देखिन्छ”, श्रेष्ठले भन्नुभयो । उहाँले वर्षे मेलाका मुख्य आकर्षणरुपमा लाखे जात्रा, टाकटुके जात्रा, बाघ जात्रा, जोगी जात्रा रहेको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ दैलेखका महासचिव प्रकाश पौडेलले पछिल्ला वर्षमा वर्षे मेलाको रौनकता घट्दै गएको बताउनुभयो । उहाँले मेलामा नागरिकको उपस्थिति नहुँदा सदरमुकामको व्यापारसमेत ओरालो लागेको बताउनुभयो ।

कोरोना महामारी पछि दैलेख सदरमुकामलगायतका स्थानमा एक महिनासम्म सञ्चालन गरिने वर्षे मेलाको रौनकता घट्दै गएको छ । केही वर्षअघिसम्म पुरानो परम्परा बोकेको वर्षे मेला हेर्न हजारौँ मानिसको भीड लाग्ने दैलेख सदरमुकाममा मानिसको पातलो उपस्थिति देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित