विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १७९ पटक पढिएको
विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिनुभयो ।

“एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुनसकेन । हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो”, उहाँले भन्नुभयो । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले थप्नुभयो, “यसो गर्न सके मुलुक स्वाधिन, सुन्दर, लोकतन्त्र र सम्बृद्ध बनाउन सकिन्छ ।” स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उहाँको भनाइ छ ।

माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उहाँले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको बताउनुभयो । सो अवसरमा सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “भ्रष्टाचार र सुशासनलाई कायम गर्ने हकमा ध्यान केन्द्रित गरेर काम गर्नुस् ।” सुशाशन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उहाँले यसअनुसार अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठकुर ढकाल, देवेन्द्र श्रेष्ठ माडीमा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित