देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु : कोइराला

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १९३ पटक पढिएको
देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु : कोइराला

चितवन : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उहाँको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताउनु भएको छ ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने नलागिसके जानकारी दिनुभयो ।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उहाँले यो प्रतिक्रिया दिनुभएको हो ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपार्इं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?”

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उहाँको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभन्नुभएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो “सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित