नेपालगञ्जमा दमकल सेवा प्रभावकारी

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १८२ पटक पढिएको
नेपालगञ्जमा दमकल सेवा प्रभावकारी
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा रहेको दमकल सेवा प्रभावकारी हुँदै गएको  छ।  जिल्लाबाहेक भारतका विभिन्न स्थानमा समेत अग्नि नियन्त्रणमा दमकल सेवा दिन थालिएको छ।
विगतमा भन्दा अहिले सेवा प्रभावकारी बन्दै गएको नेपालगञ्ज उपमहानगरपालिका, दमकल शाखाका इन्चार्ज झइनबहादुर खड्काले जानकारी दिनुभयो। दमकल सेवाका लागि अधिकांश उपकरण सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपलब्ध गराएको हो।
नेपालगञ्ज उपमहानगरभित्र बजार क्षेत्रमा साँघुरो बाटो भएका कारण आगलागी भएको समयमा दमकल जान नसक्दा ठूलो नोक्सानी हुने गरेको थियो। तर उपलब्ध उपकरणका कारण केही राहत मिलेको इन्जार्च खड्काको भनाइ छ । पहिले दमकलमा पानी भर्न कार्यालयमा पुग्नुपर्ने अवस्था भएकामा अहिले पानी भर्ने स्टेसन निर्माण गरिएकाले सहज भएको उल्लेख गर्दै यस्ता स्टेसन अझै बढाउन आवश्यक भएको बताउनुभयो । उक्त स्टेसन विपीचोकको गुरुद्वारा क्षेत्रमा रहेको छ।
“आगलागी भएको अवस्थामा पानी भर्न करिब २० मिनेट समय खर्च हुन्छ, त्यस्तो अवस्थामा ओभरहेड ट्याङ्की भए पानी भर्न छिटो हुन्छ”, खड्काले भन्नुभयो। अझै पनि उपमहानगर क्षेत्रका एकलैनी तथा वडा नं ३ र ७ मा साँघुरा सडक भएकाले ती सडकमा दमकल नजाने भएकाले त्यस्ता ठाउँमा पुग्ने ‘मिनी दमकल’ आवश्यक भएकामा जोड दिँदै उहाँले विद्युतीय तार र जथाभावी पार्किङका कारण दमकललाई सडकमा हिँड्न अप्ठेरो भएको बताउनुभयो।
“साइरन बजाए पनि नागरिक सचेत नभएका कारण बाटोमा जथाभावी हुने गाडी पार्किङले दमकल निश्चित ठाउँमा जान नसक्दा आगलागीबाट क्षति भइसकेको हुन्छ,” उहाँले भन्नुभयो।
नेपालगञ्ज उपमहानगरले २०७१, २०७६ र २०७७ सालमा दमकल खरिद गरेको थियो। तीमध्ये एउटामा पाँच हजार पाँच सय लिटर तथा अर्कोमा पाँच हजार लिटर पानी अट्छ। तेस्रो दमकल चार हजार पाँच सय लिटर क्षमताको छ । कोहलपुर नगरपालिकाले २०७४ वैशाख  र नरैनापुर गाउँपालिकाले २०७५ जेठमा दमकल किनेका थिए । यिनै पाँच दमकल जिल्लाका अन्य स्थानीय तह र भारतमा समेत आगो निभाउन प्रयोग गर्ने गरिएका छन् । यी भएका दमकलमा पनि पर्याप्त जनशक्ति छैनन्।
दमकल शाखामा कार्यरत फायर म्यान जुबेर हल्वाइ भन्नुहुन्छ्, “एउटा दमकल सञ्चालन गर्दा कम्तीमा पनि एक चालक, एक इन्चार्ज र चार फायर म्यान गरी ६ जना चाहिन्छ।”  नेपालगञ्जमा तीन दमकलका लागि तीन चालक मात्र छन् । एक जना बिदामा बस्दा दमकल चलाउने अर्को व्यक्ति नै हुँदैन। सुपर परियोजना बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले दमकल सेवामा कार्यरत जनशक्तिको क्षमता बढाउने र उनीहरूलाई आवश्यक सुरक्षाका सामग्री सहयोग गरी दमकल सेवालाई प्रभावकारी बनाइएको बताउनुभयो।
नेपालगञ्जमा २०७६ देखि २०७९ सालसम्म दुई सय ४० आगालगीका घटना भएका थिए। यसमध्ये सबैभन्दा बढी विद्युतीय कारणले ९३ आगलागीका घटना भएका तथ्याङ्क छ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित