सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • २३३ पटक पढिएको
सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट
काठमाडौँ : सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अभ्यासको आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले रुसी महासङ्घ नेपालको पुरानो मित्र भएको स्मरण गराउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको र रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभयो । सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड– १९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकामा रुसी महासङ्घलाई धन्यवाद दिनुभयो ।
राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदानप्रदानका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिनुभएको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित