परम्परागत घारमै मौरिपालन

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १३३ पटक पढिएको
परम्परागत घारमै मौरिपालन

पाल्पा : कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो ।

मह काढ्ने समय भएपछि कसका घरमा कसले कति निकाल्यो भन्ने गाउँभरि नै चर्चा हुन्थ्यो । तर अहिले भने यसरी परम्परागत ढङ्गले मौरीपालन गर्ने चलन गाउँमा कम हँुदै गएको छ । गाउँमा बस्ने बुढापाकाले परम्परागत रुपमा आफूले गरिआएको व्यवसाय झट्ट हटाउन नसक्दा केहीले निरन्तरता दिएका छन् । पहिलेको तुलनामा घारको सङ्ख्या भने घटाउँदै गएका छन् ।

रामपुर नगरपालिका– १ कुमैडाँडामा गोवद्र्धन वंशीको घरमा पुरानो शैलीमा घरकाभित्ता, बार्दलीमा लहरै मुढेघार छन् । परम्परागत व्यवसाय गाउँमा सबैले छाड्दै गएको अवस्थामा उहाँले भने निरन्तरता दिइरहनुभएको छ ।

उहाँले गाउँमा जङ्गलबाट उडेर आएका मौरी छोपेर घारमा राखेर पाल्न सुरु गर्नुभएको हो । माउको सङ्ख्या वृद्धि हुँदै जाँदा गोला छुट्टाएर क्रमिक रुपमा घार विस्तार गर्दै गएको उहाँले बताउनुभयो । उहाँका घरमा हाल १३ वटा परम्परागत (मुढेघार) र एकवटा आधुनिक घारमा मौरी छन् ।

मुढेघारमा मौरी पाल्न समस्या छैन । तैपनि हिजोआज गाउँमा धेरैले छाड्दै गएका छन् । घार तयार पार्न गाउँमा काठपातमा लगानी गर्नुपर्दैन् । आफ्नै खरबारीका काठले घार तयार हुन्छन् । चिलाउने, कटुस, क्यामुना, टुनीलगायतका काठबाट मौरी बस्न मिल्ने खालको हातले नै कुँदेर घार तयार पारी मौरीगोला राख्ने गरेको वंशी बताउनुहुन्छ ।

उहाँले एक वर्षमा ५० मानासम्म मह उत्पादन गर्नुहुन्छ । प्रतिमाना रु एक हजारमा अहिले मह धमाधम बिक्री भइरहेको छ । मौसम राम्रो भएका बेला मह धेरै उत्पादन लिन सकिन्छ । खडेरीयाममा भने उत्पादन घट्ने उहाँको भनाइ छ । “दुई छोरा रामपुरको बजार क्षेत्रमा बसोबास गर्छन्, हामी श्रीमान श्रीमती गाउँमै बसेर मौरीपालन, बाख्रा, भैँसी, कुखुरापालन, कोदो, मकै, गेडागुडी खेतीमै भुलेका छौँ”, उहाँले भन्नुभयो, “गाउँ छाडेर शहर बजारमा किनेर खानुभन्दा आफ्नै पौरखमा रमाउँदाको मज्जा नै बेग्लैछ” ।

तीन÷तीन महिनामा पनि मह निकाल्न सकिने हुँदा एकै घारमा राम्रो समय परेका बेला सात मानासम्म मह निकालेको वंशीले अनुभव सुनाउनुभयो । माउ धेरै भएमा तीन÷तीन महिनामा उकम हुँदाका बखत छ÷छ महिनामा उहाँले मह काढ्नुहुन्छ । उहाँका अनुसार मह निकाल्नका लागि असार, साउन, माघ, चैत महिना उपयुक्त समय हो । पहिलाजसो ठूलो सङ्ख्यामा वस्तुभाउ पालन गर्न नसकिए पनि थोरै–थोरै भए पनि गाउँमै बसेर पशुपालन, खेतीपातीमा समय बिताउने माध्यम बनेको उहाँको भनाइ छ ।

कुमैडाँडा क्षेत्रमा करिब ६५ घरपरिवारको बसोबास छ । पहिला सबैका घर–घरमा मौरीघार राखिन्थ्यो । अहिले भने पाँचदेखि सात घरपरिवारमा मात्रै सीमित बन्न पुगेको छ । रामपुर १ मकैडाँडाका राजकुमार खत्रीको घरमा अहिले १२ मुढेघार छन् । तीमध्ये सात घारमा मौरी छन् । विसं २०५५ देखि परम्परागत घारमा मौरीपालन गर्दै आउनु भएका खत्री अहिले भने पहिलाको तुलनामा कम घारमा मौरीपालन गरिएको बताउनुहुन्छ ।

जङ्गलबाट उडेर आएको मौरी छोपेर घारमा पाल्न थाल्नुभएका खत्रीले हरेक वर्ष त्यसबाटै गोला विभाजन गरी घार बढाउँदै गएको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “हिजोआज गाउँमा बस्नेक्रम पातलिँदै गएको छ, हाम्रो परिवार अहिले गाउँदेखि तल बँेशीमा पनि बसोबास गरेपछि (दुई ठाउँमा बसोबास हुँदा) मौरीपालन व्यवसाय कम हुँदै गएको छ” । परिवार दुई ठाउँमा बसोबास गर्दा रेखदेख गर्न अप्ठ्यारो भएकाले घार घटाउँदै गएको उहाँले बताउनुभयो ।

खत्रीले दुईदर्जन बढी घारमा मौरीपालन गर्दा वर्षमा ७० मानासम्म मह उत्पादन गर्ने खत्रीले हिजोआज भने वर्षमा १२ देखि १५ मानासम्म मह उत्पादन हुने गरेको अनुभव बताउनुभयो । मुढेघारको मह औषधिका लागि प्रयोग हुने भएकाले विदेशमा बसोबास गर्ने नेपालीको मागअनुसार विभिन्न देशमा मह पु¥याउनु भएका खत्रीका घरमा अहिले पनि मह खरिद गर्न जाने गर्छन् । तर उत्पादन कम हुँदा धेरैलाई रित्तो हात फर्काउनुपरेको छ ।

पुख्र्यौली व्यवसायलाई निरन्तरता दिन व्यवसाय गर्न आवश्यक पर्ने सामग्री तथा उत्पादित वस्तुको बजारमा खपत गराउन वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट सहयोग गर्ने नगर प्रवक्ता एवम् वडाध्यक्ष कपिलबहादुर खाण बताउनुहुन्छ । “गाउँमा उत्पादन भएका विभिन्न उपभोग्य वस्तु पोखराको न्युरोडमा रहेको पाल्पा हाउसमा राखेर बजारीकरण गरिदिने विषयमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीयले बाहिर लगेर बिक्री गर्ने उद्देश्यले उत्पादनलाई बढाउनुप¥यो” ।

व्यवसायमा लगानी गर्न नपर्ने, सामान्य रेखदेख गरेर पनि यस व्यवसायबाट मनग्य कमाउन सकिन्छ । मानिसहरुले पछिल्लो समय परम्परागत मौरीपालन अहिले छाड्दै गएको उहाँको भनाइ छ । मौरीपालनमा सोख भएकाले बजारमा आधुनिक घार खरिद गरेर घरमा पाल्ने गरेको पाइन्छ । मह बेचेर मनग्य आम्दानी गर्न सकिने, लगानीमा धेरै रकम खर्च गर्न नपर्ने, बिक्रीका लागि बजार सहज हुँदा परम्परागत मौरीपालन व्यवसायिलाई निरन्तरता दिन सकियो भने स्थानीयवासीको आयस्रोतमा टेवा पुग्ने उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित