मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २६७ पटक पढिएको
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो । घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट रु एक करोड ४१ लाख बिनियोजन गरिएको छ । सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा यसको निर्माण हुनेछ ।

चिस्यान केन्द्र बनेसँगै स्याउको पकेट क्षेत्र थासाङ गाउँपालिका–१ टुकुचे– झोङोदेखि घरपझोङ गाउँपालिकाअन्तर्गतका गाउँ मार्फा, धमाङ, सबि, चिमाङ, छैरो, तिब्बतीयन क्याम्प, शीतोष्ण बागवाणी केन्द्र, स्याङ, जोमसोम, ठिनी, ढुम्बा आदि लाभान्वित हुनेछन् । यी ठाउँमा व्यक्तिगत एकाध ठाउँबाहेक हालसम्म ‘कोल्ड स्टोर’ बनेका छैनन् ।

मुस्ताङमा ठूलो लगानीमा बन्न लागेको चिस्यान केन्द्र पहिलो भएको सचिव लालचनले बताउनुभयो । पछिल्लो समय जिल्लामा स्याउ भण्डारणको लागि प्रदेश सरकार र अन्य निकायबाट जे जति पहल भए पनि पर्याप्त मात्रामा चिस्यान केन्द्रको अभाव रहेको कृषक बताउँछन् ।

यसअघि जिल्लामा भित्रिएका प्रायः चिस्यान केन्द्र आम सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको घरपझोङ गाउँपालिका–१ छैरोका कृषक सिंहराज लामाले बताउनुभयो । अहिले ती चिस्यान केन्द्र पनि कतिपय प्रयोगविहीनै जस्तै देखिएको उहाँको भनाइ छ । बनेका कतिपय चिस्यान केन्द्र उचित स्थानमा पनि नबनेका कारण भण्डारणमा समेत समस्या पर्ने गरेको जनाइएको छ ।

ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएसँगै यहाँका कृषक उत्साहित बनेका छन् । चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसममा पनि बिक्री वितरण गरी राम्रो मूल्य आर्जन गर्न सकिने भएकाले यो अत्यन्तै लाभदायक बन्ने कृषक सिंहरमज लामाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित