नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४०९ पटक पढिएको
नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आज आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन्नाथ चापागाईंले ती एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । खरिद गरिएका ३० वटै एम्बुलेन्स ‘ख’ वर्गका छन् । ‘ख’ वर्गका एम्बुलेन्समा अक्सिजन सिलिन्डर, मोनिटरलगायत न्यूनतम स्वास्थ्य पूर्वाधार रहेका हुन्छन् ।

एम्बुलेन्स प्राप्त गर्नेमा इलाम, झापा, तेह्रथुम, सङ्खुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्यूठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्ला शाखा छन् । यस्तै बाँकेको सोनारी, बर्दियाको बारबर्दिया, भोजपुरको अन्नपूर्ण, गोरखाको मनकामना, कालीकोटको नरहरिनाथ, रोल्पाको घर्तीगाउँ, सिन्धुलीको ग्वालटार र सिरहाको मिर्चैया उपशाखाले पनि एम्बुलेन्स प्राप्त गरेका छन् ।

विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रसले दुर्घटनाका घाइते तथा बिरामीको स्वास्थ्य अवस्था बिग्रन नदिन २०२१ सालमा पहिलो पटक नेपालमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो । त्यतिबेला जर्मन रेडक्रसको सहयोगमा एम्बुलेन्स सञ्चालन गरिएको थियो । सो लगत्तै २०२२ सालमा जापान सरकारको सहयोगमा रेडक्रसले दोस्रो एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । रेडक्रसले हाल ६८ जिल्लामा दुई सय ७५ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित