अध्यादेश पारित
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४८७ पटक पढिएको

प्रदेश नं १ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ८१(४) बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गर्नुभएको थियो।
सङ्घीय निजामती सेवा ऐन आइनसकेको अवस्थामा प्रदेशमा रिक्त दरबन्दीमा कर्मचारी व्यवस्थापन गर्न सो अध्यादेश ल्याएको मन्त्री राजभण्डारीले प्रष्ट पार्नुभयो। यसैगरी, प्रदेशसभा नियमावली, २०७४( पहिलो संशोधन समेत)को नियम १३ बमोजिमको कार्यव्यवस्था परामर्श समितिका सदस्यको विवरणसहित प्रदेशसभा नियमावली मस्यौदाका लागि गठित समितिको विवरण पनि सभामुख बाबुराम गौतमले सार्वजनिक गर्नुभयो।
आठ मिनट चलेको सदनमा तीन मिनेटपछि नेपाली कांग्रेसका सांसद केदार कार्कीले नियमापत्ति जनाउनुभएको थियो। उहाँले जनताको समस्या अवगत गराइने शून्य समय हटाएको र सदन मिलोमतोमा चलाएको आरोप लगाउनुभयो।
प्रदेश सभाको अर्को बैठक भोलि अपरान्ह १ बजे बस्नेछ। रासस