साझा संयन्त्र बनाएर सडक निर्माणसम्बन्धी समस्या समाधान गरिने
- वर्ल्ड दैनिक
- १ साल अघि
- २७८ पटक पढिएको
काठमाडौं– काठमाडौँ उपत्यकामा सडक निर्माणसँग सम्बन्धित निकायबीच सडक समस्या समाधानका लागि साझा संयन्त्र बनाएर काम गर्ने गरी सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपत्यकाका महानगरपालिका, सडकमा संरचना रहने निकायका प्रतिनिधिसहितको अन्तरक्रियात्मक बैठकले कुनै एउटा निकायले मात्रै चाहेर सडकको राम्रो बन्न नसक्ने भन्दै मिलेर अघि बढ्ने गरी छलफल भएको हो।
विगतमा मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक विकास हुन नसकेको बताइएको छ। उपप्रधानमन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर समन्वयमा नै सडक निर्माण र सुधारको काम हुनुपर्ने बताए।
सबैले समन्वयमा आआफ्नो काम गर्नुपर्नेमा उनको जोड छ। सडकमा स्वामित्व फरकफरक मन्त्रालय वा फरक सरकारको भए पनि कुनै पनि समस्या आउँदा भौतिक पूर्वाधार मन्त्रालयलाई आरोप लाग्ने गरेको उनको भनाइ छ।