पोखराबाट ल्याइएका शव काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गरिँदै
- वर्ल्ड दैनिक
- १ साल अघि
- २३९ पटक पढिएको
काठमाडौं– पोखरामा विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ। यही माघ १ गते काठमाडौँबाट पोखरा उडान भरेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको हो।
मङ्गलबार दिउँसो नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ। मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ।
कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ। चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको बाँकी एक व्यक्ति अझै बेपत्ता रहेकाले खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ।