राष्ट्रपति भण्डारीद्वारा राष्ट्रनिर्माता शाहको सालिकमा पुष्पहार अर्पण
- वर्ल्ड दैनिक
- १ साल अघि
- १८२ पटक पढिएको
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेकी छन्। पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा उनले पुष्पहार एवं माल्यार्पण गरेकी हुन्।
पृथ्वी जयन्तीका अवसरमा श्रद्धाभाव प्रकट गर्न सिंहदरबार पश्चिम मूलढोकाअघि मानिसको भीड लागेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म ¥याली निकालेको छ । ¥यालीसहित राप्रपाले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको छ। जयन्तीका अवसरमा बाजागाजा, शङ्ख, घण्ट ध्वनिले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो।
प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदैछ।