फिफा विश्वकपः नकआउट चरणमा पुग्ने दुई समूहका चारवटा टोलीको छिनोफानो
- वर्ल्ड दैनिक
- १ साल अघि
- ४९८ पटक पढिएको
फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने दुई समूहका चारवटा टोलीको छिनोफानो भएको छ । समूह ए र समूह बी को समूह चरणका खेलहरु समाप्त भएसँगै अन्तिम सोह्रको समीकरण पनि प्रष्ट बन्न थालेको छ ।
गएराती सम्पन्न खेलमा समूह ए बाट नेदरल्याण्ड्स विजेताको रुपमा र सेनेगल उपविजेताको रुपमा अन्तिम सोह्रमा पुगेका छन् । हिजोको खेलमा नेदरल्याण्ड्सले आयोजक राष्ट्र कतारलाई २-० को सहज जीत निकाल्दै समूह विजेता बनेको हो ।
त्यसैगरी सोही समूहको अर्को खेलमा सेनेगलले इक्वेडरमाथि २-१ को जीत हासिल गर्दै उपविजेता बन्दा इक्वेडर चार अंक जोड्दै तेस्रो र कतार बिना अंक पुछारमा रहन पुग्यो ।
आज बिहान सम्पन्न समूह बी का खेलहरुमा इङ्ल्याण्डले वेल्सलाई ३-० गोलको सानदार जीत निकाल्दै विजेताको रुपमा अन्तिम सोह्रमा आफ्नो स्थान पक्का बनाएको छ ।
त्यसैगरी अमेरिकाले इरानमाथि १-० गोलको जीत निकाल्दै उपविजेताको रुपमा अन्तिम सोह्रमा पर्न सफल भएको छ । अमेरिकाले पाँच अंक जोड्दा इरान तीन अंकसहित तेस्रो र वेल्स एक अंकमा सीमित रह्यो अब अन्तिम सोह्र चरणमा नेदरल्याण्ड्सले अमेरिकाको सामना गर्नेछ भने इङ्ल्याण्ड सेनेगलसँग क्वाटरफाइनलको लागि प्रतिस्पर्धा गर्नेछ ।
फिफा विश्वकपमा आज समूह डी को अन्तिम खेलमा साविक विजेता फ्रान्सले ट्युनिसियासँग र डेनमार्कले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछन् । दुवै खेल बेलुकी ८.४५ बजेबाट खेलिदैछ ।
आज मध्यरातमा भने अर्जेन्टिनाले पोल्याण्डसँग र साउदी अरेबियाले मेक्सिकोसँग खेल्ने खेल तालिका रहेको छ । खेल मध्यरात १२.४५ बजेबाट सुरु हुँदैछ ।