पुटिनको सेना परिचालनको निर्देशनसँगै रूसबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढ्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७१ पटक पढिएको
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएको छ ।यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको एयरलाइन र ट्राभल एजेन्टको तथ्याङ्कले देखाएको छ ।पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रूसले सुरुमा करिब तीन लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएको छ ।
रूसमा लोकप्रिय एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत मुलुक अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका शहरहरूमा हुने सिधा उडानहरूको टिकट पूरै बिक्री भएका छन् ।टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा भनेको छ, “रूस जाने र आउने उडानहरूका लागि महत्वपूर्ण गन्तब्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिबारसम्म सबै टिकट बुक भएका छन् ।” बेलग्रेडको लागि अर्को उपलब्ध एयरसेर्बियाको उडान सेप्टेम्बर २६ को लागि मात्र उपलब्ध रहेको बताएको छ ।
गुगलको तथ्याङ्कअनुसार रूसमा ‘टिकट’ र ‘उडान’का लागि गरिएको खोजीमा स्थानीय समयअनुसार बुधबार ६ बजेपछि दोब्बरभन्दा बढी भएको छ ।‘रुस छोड्न’ अनुरोध सामान्य समयको तुलनामा बिहानको समयमा सय गुणा बढी गरिएको गुगल ट्रेन्ड्सको तथ्याङ्कले देखाएको छ ।
पुटिनले युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली संघबीचको उडान बन्द भएको थियो ।लडाईंको सुरुवातले रूसीहरूमाझ सैन्य शासन लागू गर्न सकिन्छ कि भन्ने चिन्ता उत्पन्न भयो र दशौं हजार मानिसहरू रूसको छिमेकी देशहरूमा पलायन भए ।