डेंगुले महामारी फैलाउन लागेको भन्दै सतर्कता अपनाउन विज्ञहरुको चेतावनी

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ५३ पटक पढिएको
डेंगुले महामारी फैलाउन लागेको भन्दै सतर्कता अपनाउन विज्ञहरुको चेतावनी

स्वास्थ्य विज्ञहरूले डेंगु रोगले धेरै मानिसहरु जटिल अवस्थामा पुगेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका छन्। सन् २०१९ मा डेंगुले कयौं मानिसको घर उजाडेकाले तीन वर्षअघिको अवस्था जस्तै जटिलता आउन लागेको भन्दै चिकित्सकहरुले सतर्कता अपनाउन चेतावनी दिएका हुन्। सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो।

अहिलेको अवस्था हेर्दा साउनयता मंगलबारसम्म ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ। ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार ७५ जिल्लामा फैलिइसकेको डेंगुबाट हालसम्म ९ जनाको मृत्यु भइसकेको छ। असोज अन्तिमसम्म अझ ठूलो जोखिम रहेको र २०१९ को भन्दा पनि बढी केस देखिन सक्ने उनले बताए।

ईडीसीडीका अनुसार १० जिल्ला उच्च जोखिममा परेका छन्। राजधानी काठमाडौं, ललितपुर, भक्तपुरसहितका जिल्लालाई ईडीसीडीले उच्च जोखिममा राखेको छ। विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो। २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसले प्रकोपको रूप लिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणमा जोड दिएको दाबी गरे पनि पर्याप्त काम भएको देखिन्न । विज्ञहरूका अनुसार अझै दुई महिना डेंगुको जोखिम छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगुको उत्कर्ष अझै केही समय रहने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित