गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह निम्तिन्छ : शेखर कोइराला
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४३५ पटक पढिएको
कांग्रेसका शीर्ष नेता शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह हुने बताएका छन्। आइतबार कांग्रेस क्षेत्र–६ मोरङको बुढीगंगामा आयोजित प्रशिक्षण कार्यक्रममा कोइरालाले कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय सबै नेतालाई पालना गर्न आग्रह गरे।
पार्टीले गठबन्धनमा चुनाव लडेर बहुमतको सरकार बनाउने निर्णयलाई कसैले पनि लत्याउन नमिल्ने उनको भनाइ थियो। बहुमतसहितको सरकार बनाउन ७०/८० सिट लिएर नहुने कोइरालाले बताए। उनले बहुमतको सरकार बनाउन र पार्टीमा विद्रोह हुन नदिन सय सिट कांग्रेसले पाउनुको विकल्प नरहेको बताए।
‘गठबन्धनमा चुनाव लडेर जित सुनिश्चित हुने ठानेर अहिले उम्मेदवार बन्ने सूचीमा नाम लेखाउनेको भीड छ,` उनले भने, ´गठबन्धनले कसैलाई जिताउँछ भन्नेमा कसैलाई पनि विश्वास छैन र हामीलाई पनि विश्वास छैन।` कांग्रेसलाई युवा पार्टी बनाउन अवसरवादीहरूलाई यो निर्वाचनले पाखा लगाउने उनले आग्रह गरे । पार्टी र विचार नबुझेका अवसरवादीहरू पैसाको बलमा अहिले सबै पार्टीमा हालिमुहाली जमाएको कोइरालाको भनाइ थियो ।