क्षमता घटाएर मध्य त्रिशूली गंगा जलविद्युत आयोजना सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३५१ पटक पढिएको
नुवाकोट– क्षमता घटाएर नुवाकोटकको त्रिशुलीमा अर्को जलविद्युत आयोजना मध्य त्रिशुली गंगाको निर्माण शुरु भएको छ ।
वहुप्रतिक्षित र चर्चित सो आयोजना विदुर नगरपालिका–७ तुप्चेमा वैदिक विधिपूर्वक निर्माण शुभारम्भ गरिएको हो ।
पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले क्षमता घटाएर आयोजना निर्माण थालेको हो । आयोजना निर्माणको अनुमति पाएको लामो समय भए पनि उत्तरगया धामका रुपमा प्रसिद्ध बेत्रावती धार्मिक क्षेत्रमा त्रिशुली नदीको बहाव सुक्ने जनाउँदै अदालतमा मुद्धा परेको कारण आयोजना ढिला शुरु भएको हो ।
माथिल्लो त्रिशूली थ्री-बी को क्यासकेट परियोजनाको रुपमा यो आयोजनालाई अघि बढाइएको हो । किस्पाङ गापा ५ को पैरेवेसी सिरुपानीमा थ्री बी बाट झरेको पानीलाई मध्य त्रिशूली गंगाको लागि ल्याइने निर्माण पक्षले जनाएको छ ।
पाँच अर्व रुपैया लागत रहेको सो आयोजनाको बाँधस्थलबाट उत्पादनगृहसम्म दुई हजार दुई सय मिटरको रहेको छ । पैरेवेसीको सिरुपानी नयाँपुलदेखि जयडाँडासम्म एक हजार एक सय मिटर सुरुङमार्ग र जयडाँडादेखि तुप्चेस्थित विद्यृतगृहसम्म एक हजार एक सय मिटर पाइपमार्फत पानी ल्याइने पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिका अध्यक्ष भरत खड्काले जानकारी दिए ।
हिउँद बर्खामै १५.६५ मेगावाट विद्युत उत्पादन हुने आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने निर्माण पक्षले जनाएको छ । अदालतले स्थानीयको माग अनुसार नै बेत्रावती धार्मिक क्षेत्रमा पानीको बहाव नरोकिने गरी बेत्रावतीमाथि पानी झर्ने गरी बनाउन आदेश दिएपछि आयोजनाको क्षमता घटाइएको हो ।
२२ मेगावाट क्षमताको अनुमति पाए पनि अदालतमा मुद्धा परेपछि हाल १५ दशमलव ६५ मेगावाटमा आयोजना खुम्चिएको छ । बेत्रावती मन्दिरबाट केही तल तुप्चेतर्फ आयोजनाको विद्युत उत्पादन गृह रहने गरि निर्माण गरिने भएपछि स्थानीयले धार्मिक क्षेत्रमा नदीको बहाब रोक्न नहुने भन्दै अदालत गएका थिए ।
अदालतको फैसला स्थानीयको पक्षमा आएपछि आयोजना बेत्रावती धार्मिकस्थलभन्दा केही माथि नै उत्पादनगृह रहनेगरी निर्माण आरम्भ गरिएको हो । यस आयोजना थपिएसंगै त्रिशुली नदी जलविद्युतको हवको रुपमा स्थापित भएको छ ।