करिब ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयमा लागेको ताला
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३१ पटक पढिएको
करिब पाँच महिनाअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लागेको ताला आइतबारदेखि खुलेको छ ।
नेपाली कांग्रेसको विद्यार्थी संगठनले विभिन्न माग राख्दै माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।
शुक्रबार नेपाल विद्यार्थी संघले ताला खोलेको थियो भने आइतबार आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले ताला खोलेका हुन् ।
अब विश्वविद्यालयको प्रशासनिक कामहरु करिब १४० दिन भन्दा बढी समयपछि नियमित हुने भएको छ ।
आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि आंशिक प्राध्यापकको ताला खोलिएको हो । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।
२०७८ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच सहमति भएको छ ।