प्रधानमन्त्री देउवालाई मन्त्री फेर्ने पार्टीको निर्णयलाई सरकारले तत्काल कार्यान्वयन गर्न दबाब
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५४ पटक पढिएको
प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न दवाव दिएका छन् ।
शुक्रबार पत्रकारहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा संसद भवन नयाँ बानेश्वरमा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिएका छन्।
आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । उनले भने, ‘मैले धेरै पटक यसको जवाफ दिइसके । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’
सम्मानित नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए भने बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरेका छन्।