बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद तत्काल नहटाउने

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८१३ पटक पढिएको

बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद सरकारले तत्काल नहटाउने भएको छ ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले प्रचलित कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार हुन नसक्ने बताएका हुन् ।

उनले हदम्यादका कारण न्यायबाट वञ्चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर भएको र यस बारेमा पब्लिक डिबेट सुरु हुनेवित्तिकै सरकारले सिरिसयली लिएर नेपाल कानुन आयोगलाई यस विषयमा अध्ययन गर्न भनेको बताएका छन्।

मन्त्री बन्दीले कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेशसमेत हेरेर प्रतिवेदन दिने र त्यस आधारमा मात्र सरकारले पुनर्विचार गर्न सक्ने  बताए ।

प्रतिवेदन आउनेवित्तिकै त्यसले ल्याएको पक्षमा आवश्यक छलफल कानुनमा आवश्यक सुधार गर्ने र कानुन निर्माणका क्रममा धेरै विषयमा ध्यान दिनुपर्ने भन्दै कानुनमन्त्री बन्दीले नेपालमा समाजको आवश्यकताका आधारमा बेला बेला कानुन परिवर्तन हुँदै आएको पनि बताएका छन्।

नेपालमा मुलुकी ऐन २०२० ले बलात्कार मुद्दामा ३५ दिन हदम्याद राखेको र पछि त्यसलाई बढाएर ६ महिना बनाइएको र मुलुकी अपराध संहिता २०७४ मा एक वर्ष राखिएको र पहिले सपना प्रधान मल्लले दायर गरेको रिटमा सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिर अनुसार व्यापक छलफल भई चार वर्षअघि मात्र हदम्याद पुनर्विचार गरेको पनि मन्त्री बन्दीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित