इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न थापाको माग
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५६५ पटक पढिएको
सरकारको इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले सरकारसँग माग गरेका छन् ।
यातायात मन्त्रालयले साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना निकालेको थियो । सांसद थापाले समस्या समाधान नगरी मन्त्रालयले जनतालाई धम्कीको भाषा दिएको भन्दै आपत्ति जनाएका छन् । सांसद थापाले आज प्रतिनिधि सभा बैठकमा भने, ‘यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने काम गरेको छ, जवरजस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन् । त्यसअघि सरकारले पुनर्विचार गरोस्।’
नागरिकहरूबाट छिमेकी देशहरूमा भन्दा नेपालमा इम्बोस्ड नम्बर पाँच/छ गुणा महँगो भएको गुनासो आइरहेको पनि उनले बताए ।
उनले भने, ‘साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे देखाइदिन्छु भनेर जुन किसिमले धम्की दिएको छ, धम्कीको भाषा गलत छ खारेज गर्नुपर्छ। तत्काल पुनरावलोकन होस्, पूर्वाधार तयार गरियोस्, नागरिकलाई सास्ती नहोस्। जनशक्ति थपियोस्।’
साउन १ भित्र गण्डकी र बागमतीको यातायात कार्यालयमा दर्ता सवारी साधनले इम्बोस्ड नम्बर नलिए कारबाही चेतावनी यातायात विभागले दिएको थियो ।
इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का बंगलादेश र अमेरिकाको कम्पनीले लिएको थियो ।
थापाले २५ लाख सवारीमा १५ महिनामा इम्बोस्ड नम्बर जडान गर्न सम्भव नरहेको पनि बताए भने इम्बोस्ड नम्बर प्लेटमा देवनागरिक लिपीमा लेखिनुपर्ने उनले बताए ।