कालीगण्डकी दोहन रोक्न प्रहरीको सक्रियता
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४३४ पटक पढिएको
प्रहरीले कालीगण्डकी नदीको अवैध दोहन रोक्न सक्रियता बढाएको छ । अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्रयाक्टरलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्रयाक्टर नियन्त्रणमा लिएको थियो ।
नदीजन्य पदार्थको उत्खनन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले पाँचवटै ट्रयाक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको बताए ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौँ”।
बुधबार प्रहरीले ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नंको ट्रयाक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको छ । ट्रयाक्टर चालकबाट पहिलोपटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटकमा रु २० हजार जरिवाना असुल्ने कानुनी व्यवस्था छ ।