गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वैशाख १२ गतेदेखि सञ्चालनमा
- वर्ल्ड दैनिक
- १ साल अघि
- २८५ पटक पढिएको
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आगामी वैशाख १२ गतेदेखि सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पुरानो १ हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरी ३ हजार मिटरको नयाँ धावनमार्ग सञ्चालनमा ल्याउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीका अनुसार यति, बुद्ध, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि आन्तरिक उडान भर्नेछन्।
उनले विमानहरु टेकअफ र ल्याण्डिङ वैशाख ८ देखि सुरु हुने बताए। ‘नयाँ बनेको टावर हाम्रो पहिल्यै सञ्चालनमा आइसकेको छ । सञ्चालनमा आउन बाँकी रन वे थियो, त्यो पनि वैशाख ८ देखि सञ्चालनमा आउँछ’ उनले भने ।
बुद्धजयन्तीका दिनदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने जानकारी दिँदै महानिर्देशकले गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन निर्माण र क्षमता वृद्धि गर्न मात्रै बाँकी रहेको जानकारी दिए ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन विमानस्थलको चाप कम हुने विश्वास व्यक्त गरे । महानिर्देशक अधिकारीले अहिले धावनमार्ग न्यारोबडी र वाइडबडीका लागि तयार भएको बताए । अहिलेसम्म जजिरा एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ । जाजिराले अर्को सातादेखि टिकट बेच्ने सम्भावना रहेको पनि अधिकारीहरुले बताएका छन् ।
कोरोना भाइरसपछि बढ्दो हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने महानिर्देशक अधिकारीले बताए ।