राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरुले कति खर्च गर्न पाउछन् ?
- वर्ल्ड दैनिक
- १ साल अघि
- १९१ पटक पढिएको

निर्वाचन आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । सिमा अनुसार अब उम्मेदवारहरुले ३ लाखभन्दा बढी खर्च गर्न पाउने भएका छन् ।
आयोगका अनुसार मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ ।
त्यस्तै, कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने छ, भने गोष्ठी र अन्तरक्रियाका लागि १ लाख, कार्यालय सञ्चालनमा ३० हजार र प्रतिनिधि परिचालनका लागि ३० हजार रुपियाँ खर्च गर्न पाउने भएका छन् ।
आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि विभिन्न राजनीतिक दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका आयोगले जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ सदस्यमध्ये सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहबाट निर्वाचित हुनेछन् ।