काबुललाई विनाश हुनबाट बचाउन देश छोडेको हुँ : पूर्वराष्ट्रपति गनी

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ७७ पटक पढिएको

 

अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले "काबुललाई विनाश हुनबाट बचाउन" आफू देश छाडेर भागेको दाबी गरेका छन् । उनले अगस्ट १५ को बिहान त्यो दिन अफगानिस्तानमा आफ्नो अन्तिम दिन भएको भन्ने कुनै भान नभएको बीबीसी रेडिओ फोरको टुडे कार्यक्रमलाई बताएका छन् ।

काबुल छोड्न विमानमा उडेपछि बल्ल आफूलाई देश छोडिरहेको जस्तो लागेको उनको भनाई छ । बीबीसीका अनुसार त्यो दिन बिहान तालिबान लडाकुहरूले काबुल नछिर्न सहमति जनाएको तर दुई घण्टापछि कुरा अर्को भएको उनले बताएका छन् । उनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार र श्रीमतीलाई काबुल छोड्न भनेर र आफू रक्षा मन्त्रालय जान कार कुरिरहेको बताएका छन् ।

गनीले देश छोडेपछि उनका उपराष्ट्रपति अमरुल्लाह सालेहसहित थुप्रैले उनको आलोचना गरेका थिए । समाचार अनुसार गनीले आफूसँग ठूलो धनराशि लगेको आरोप पनि लागेको थियो तर उनले त्यसलाई अस्वीकार गरेका छन् र आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानलाई स्वीकार्ने बताएका छन् ।

उनले राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका र तालिबानबीच भएको सम्झौताले अगस्ट १५ को घटनाका लागि बाटो बनाएको पनि बताएका छन् ।

सम्झौता अनुसार अमेरिकाले आफ्नो सैन्य सङ्ख्या घटाउने र कैदी साटासाट गर्न सहमति दियो। त्यसबापत तालिबानले अफगानिस्तान सरकारसँग वार्ता गर्ने भनियो । वार्ताले काम गरेन र सन् २०२१ को मध्यतिर अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्म सबै सैनिक फिर्ता गर्ने प्रतिबद्धता जनाए । त्यति बेलासम्म तालिबानले अफगानिस्तानका सहरहरूमा कब्जा गर्न थालिसकेका बीबीसीले उल्लेख गरेको छ ।

अन्तिम समयमा देश छोडेर हिँडेको भनेर उनको आलोचना भएको थियो । उनी हाल यूएईमा रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित