वेब टेलिस्कोप अन्तरिक्ष यात्रामा
- वर्ल्ड दैनिक
- १ साल अघि
- ६७ पटक पढिएको

दश अर्ब डलर खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप शनिवार अन्तरिक्ष यात्रामा निस्किएको छ । दक्षिण अमेरिकाकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो भनिएको जेम्स वेब स्पेस टेलिस्कोप ब्रह्माण्डको पहिलो तारा खोज्ने उद्देश्यसहित प्रक्षेपण गरिएको हो ।
उक्त उडान पृथ्वीको कक्षमा ३० मिनेटभन्दा कम समय रहे सँगै केन्याको मालिन्डीस्थित एन्टेनाले प्रक्षेपण सफल भएको सङ्केत पुष्टि गरेको थियो । चन्द्रमामा एपोलो मिसनमार्फत अन्तरिक्षयान पुर्याउने प्रमुख भूमिका खेलेका वेबको नाम दिइएको यो नयाँ टेलिस्कोप हबल टेलिस्कोपको उत्तराधिकारी भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
बीबीसीका अनुसार अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन् । शनिवारको प्रक्षेपण अबको छ महिनामा हुनुपर्ने जटिल शृङ्खलाबद्ध कामको सुरुवात मात्रै भएको बताईएको छ । उक्त टेलिस्कोप पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्याइनेछ ।
त्यहाँसम्म पुग्ने क्रममा वेबले अहिलेको आफ्नो स्वरूप बदल्ने छ र त्यो ककुनबाट पुतली निस्किएको जस्तै हुने बताइन्छ । यो सुपर टेलिस्कोप ब्रह्माण्डमा धेरै टाढासम्म हेर्न मिल्ने गरी निर्माण गरिएका कारण यसले १३.५ वर्षअघिको पहिलो ताराको प्रकाश पहिचान गर्न सक्ने वैज्ञानिकहरुले अपेक्षा गरेका छन् ।
यसमा ६.५ मिटर ब्यासको खगोलीय ऐना प्रयोग गरिएको छ जुन अहिलेसम्म पृथ्वीको कक्षमा पठाइएकामध्ये सबैभन्दा ठूलो हो । खुम्च्याएर पठाइएको यो ऐनालाई अन्तरिक्षमा फैलिन नै दुई हप्ताको समय लाग्नेछ । यसले सन् २०२२को गर्मीयामसम्म पहिलो तस्बिर पठाउन सक्ने जनाइएको छ । तस्बिर : नासा