यौन आक्रमणको निन्दा गर्दै सुडानी महिलाहरू सेनाबिरुद्ध प्रदर्शनमा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १६० पटक पढिएको

 

सुडानका महिलाहरूले यौन हिंसा र बलात्कारको विरोधमा राजधानी खार्तुममा सेनाबिरुद्ध प्रदर्शन गरेका छन् । यसै साता राजधानी खार्तुममा राष्ट्रपति निवास बाहिर सरकार विरोधी प्रदर्शनमा उत्रिएकामध्ये १३ महिला र युवतीलाई सुरक्षाकर्मीले बलत्कार गरेको राष्ट्रसंघले जनाएको छ ।

आफूहरू सेनाको यौन दुव्र्यवहारमा परेको भन्दै १८ देखि २७ वर्ष उमेरका ८ जना महिला सामाजिक विकास मन्त्रालयको लैंगिक हिंसासम्बन्धी इकाइमा पुगेको सो इकाइकी प्रमुख सुलिमा इसाक्युले बताएकी छिन् । इसाक्युले भनिन्, ‘उनीहरूमध्ये दुई जनाको २४ घन्टाभित्र र अन्य ६ जनाको एक दिनपछि इकाइमा उपचार गरिएको छ,’ । अक्टोबरमा सेनाले गरेको कुको विरोधमा प्रदर्शनमा उत्रिएका २ जनाको गोली लगेर मृत्यु भएको छ । 

अल्जजिराका अनुसार प्रदर्शनकारीहरूले बिहीबार राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र बुझाएर यौन र शारीरिक हिंसाका घटनाहरूको छानबिन गर्न माग गरेका छन् । करिब ४० भन्दा बढी संगठनहरू र समितिहरूले उक्त कागजातमा हस्ताक्षर गरेको बताएका छन् ।

सुडानी अधिकारीहरूले यस हप्ताको आरोपहरूमा कुनै टिप्पणी गरेका छैनन् । तर, बिहीबार धेरै पश्चिमी राज्यहरूले उनीहरूलाई स्वतन्त्र अनुसन्धान गर्न आग्रह गरिरहेका छन् । क्यानडा, युरोपेली संघ, नर्वे, स्विट्जरल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकाले, महिलाहरूलाई प्रदर्शनबाट टाढा लैजाने र उनीहरूको आवाजलाई शान्त पार्ने हतियारको रूपमा यौन हिंसाको प्रयोग गरेको भन्दै संयुक्त विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।

नाइल नदीको पश्चिमी किनारमा रहेको खार्तूमको जुम्ल्याहा सहर ओमदुरमानमा र उत्तरी खार्तूममा पनि यस्तै विरोध प्रदर्शन भएको थियो । सन् २०१९ को जुनमा पनि सुरक्षा बलहरूले खार्तुमको सैन्य मुख्यालय बाहिर प्रजातन्त्र समर्थक धर्नालाई हिंसात्मक रूपमा तितरबितर पार्दा दर्जनौं बलात्कारका घटनाहरू रिपोर्ट गरिएका थिए ।

समाचार अनुसार सुडानको डार्फर क्षेत्रको द्वन्द्वमा बलात्कार र यौन हिंसालाई युद्धको हतियारको रूपमा प्रयोग गरेको पनि बताईन्छ । तस्बिर :एएफपी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित