दिल्लीमा क्रिसमस र नयाँ वर्षमा जमघट गर्न प्रतिबन्ध
- वर्ल्ड दैनिक
- १ साल अघि
- १८९ पटक पढिएको

भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षमा कुनै पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।
दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट म्याजिस्ट्रेट (डीएम) लाई सबै प्रकारका साँस्कृतिक कार्यक्रम र जमघटमाथि बन्देज लगाएको हो । ‘सबै डीएम र जिल्ला डीसीपीले क्रिसमसम वा नयाँ वर्षका अवसरमा कुनै पनि कार्यक्रम/जमघट/समारोह आयोजना नहुने कुराको सुनिश्चित गर्नुपर्ने छ’, आदेशमा भनिएको छ ।
जिल्लास्तरीय प्रशासनिक अधिकारी एवम् दिल्ली प्रहरीलाई उक्त आदेश पालना गर्न भनिएको छ । सर्वसाधारणलाई अकस्मात चेकजाँच गर्न र उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्न अधिकारीहरूलाई निर्देशन पनि दिएको छ । व्यावसायिक संगठनलाई समेत मास्क नलगाएका मानिसलाई प्रवेशमाथि रोक लगाउन भनिएको छ ।
डीडीएमएले रेस्टुरेन्ट, बार र अडिटोरियमहरूलाई ५० प्रतिशत क्षमतामा काम गर्न अनुमति दिएको छ । त्यस्तै विवाह सम्बन्धी जमघटहरूमा २०० जना व्यक्तिको सीमा राखेको छ ।
हालसम्म १०६ मुलुकमा फैलिइसकेको ओमिक्रोन भेरियन्टका संक्रमित भारतमा समेत बढिरहेका छन् । त्यहाँ बुधबारसम्म कुल २१३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी दिल्लीमा छन् । भारतीय समाचार माध्यमका अनुसार त्यहाँ ओमिक्रोनबाट हालसम्म ५७ जना संक्रमित भएका छन् ।