भारत र चीनबाट एकै दिन आइपुग्यो ३० लाख भन्दा बढी खोप
- वर्ल्ड दैनिक
- १ साल अघि
- १३५ पटक पढिएको

भारत र चीनबाट एकै दिन कोभिसिल्ड र भेरोसेलको ३० लाख ७२ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप (डोज) नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार सोमबार दिउँसो कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार ३८७ डोज खोप काठमाडौं आइपुगेको हो ।
कोभिसिल्ड कोभ्याक्स सुविधाअन्तर्गत र भेरोसेल खोप एशियाली विकास बैंकको ऋण सहयोगमा चीनबाट नेपाल सरकारले खरिद गरिएको हो । उनले भारतबाट १८ लाख ७० हजार पाँच सय डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आइपुगेको बताएका छन् ।
सोमबार बिहान मौसम खराबिका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता भए पनि दिउँसो ३ बजे उक्त खोप पुनः आएको चौरसियाको भनाई छ । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १७ लाख ५६ हजार ७६३ मात्रा खोप लगाइसकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको ३९.८ प्रतिशतले एक मात्रा र ३१.८ प्रतिशले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसङ्ख्याको ६०.७ एक मात्रा र ४८.४ पूर्ण मात्रा खोप लगाइसकेका छन् । आजै मात्र पनि ८६ हजार ५९६ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।