कराँचीमा ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- १७९ पटक पढिएको

पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको शक्तिशाली ग्यास विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । विस्फोटमा परी घाइते भएका १३ जनालाई अस्पतालमा भर्ना गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
कराँचीको ट्रमा सेन्टरका डाक्टर साबिर मेमनले शनिबारको घटनामा घाइते भएकामध्ये कम्तीमा तीन जनाको अवस्था गम्भीर रहेको र धेरैलाई सघन उपचार कक्षमा पठाइएको बताएका छन् । शेरशाह क्षेत्रको पर्चा चोक नजिकै निजी बैंक मुनिरहेको नालामा विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता सोहेल जोखियोले ढलमा जम्मा भएको ग्यासका कारण विस्फोट भएको हुन सक्ने अनुमान गरेको अल्जजिराले उल्लेख गरेको छ । ग्यास के कारणले विष्फोट भयो भन्ने अहिलेसम्म स्पष्ट नभए को तर विस्फोटक पदार्थ विशेषज्ञको टोलीलाई छानबिन गर्न बोलाइएको जोखियोको भनाई छ ।
विष्फोटका कारण नजिकैका भवनका झ्यालहरू चर्किएको र पार्किङमा राखिएका कार र मोटरसाइकलमा पनि नराम्ररी क्षति पुगेको छ ।
अल्जजिराका अनुसार कराँचीका धेरै ढल निकास प्रणालीहरुमा अवैध रूपमा ठोस संरचनाहरू निर्माण गरेर ढाकिएका छन् । पाकिस्तानको ६० प्रतिशत आर्थिक उत्पादन हुने कराँचीले लामो समयदेखि चरम पूर्वाधार, अनियमित निर्माण र असफल नगरपालिका सेवाहरू सहेको छ । तस्बिर : एएफपी