जोन्सन एन्ड जोन्सन खोप प्रयोग नगर्न चिकित्सकहरुको सल्लाह
- वर्ल्ड दैनिक
- १ साल अघि
- ५८ पटक पढिएको

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन-सिडिसी) का सल्लाहकारहरूले जोन्सन एन्ड जोन्सन खोप लगाएपछि रगत जमेर ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । अमेरिकी स्वास्थ्य अधिकारीले आफ्ना नागरिकलाई जोन्सन एन्ड जोन्सन कोरोनाविरुद्धको खोप नलगाउन आग्रह गरेका छन् ।
यसको साटो फाइजर वा मोडर्ना खोप दिनुपर्ने उनीहरूले बताएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जोन्सन एन्ड जोन्सन खोपले दुर्लभ तर रगत जम्नेजस्ता गम्भीर अवस्था निम्त्याउन सक्ने चेतावनी उनीहरूले दिएका समाचारमा उल्लेख छ । उनीहरूले हालसम्म फाइजर र मोडर्ना खोपमा यो समस्या नभएको र बढी प्रभावकारी भएको समेत बताएका छन् ।
अहिलेसम्म अमेरिकाले कोभिडविरुद्ध उपलब्ध तीनवटै खोपलाई मान्यता दिएको थियो । यसअघि गरिएका अध्ययनहरूले तीनवटै खोपले कोरोनाविरुद्ध सुरक्षा दिने बताएका थिए। त्यतिखेर खोप प्रारम्भिक अवस्थामा रहेको र आपूर्ति सीमित भएको अवस्था थियो । तर, समितिले फाइजर र मोडर्नाका खोपलाई प्राथमिकता दिन सिफारिस गरे सँगै बिहीबार राति सिडिसीका निर्देशक डा. रोशेल भ्यालेन्स्कीले समितिको सिफारिस स्वीकार पनि गरिसकेका छन् ।
समाचार अनुसार सिडिसीका सल्लाहकारहरूले बिहीबारको बैठकमा खोप आउनासाथ एक वर्षअघिको मान्यतामा धेरै परिवर्तन भइसकेको स्वीकार गर्नुपर्ने समय आएको बताएका छन् । सल्लाहकारले सर्वसम्मतिले फाइजर र मोडर्नाका खोपलाई प्राथमिकता दिनुपर्ने निर्णय गरेका छन् । तर, यदि कसैले जोन्सन एन्ड जोन्सनकै खोप लगाउन चाहन्छु भन्छ भने त्यसलाई उसकै चाहनाअनुसार लगाउन दिने विकल्प पनि खुला राख्न उनीहरूको सुझाव छ ।
२० करोडभन्दा बढी अमेरिकीलाई पूर्ण रूपमा खोप लगाइएको अनुमान छ र तीमध्ये लगभग १ करोड ६० लाखले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । शुरुमा जोन्सन एन्ड जोन्सनको एक मात्रावाला खोपलाई निकै स्वागत गरिएको थियो । एकैपटक मात्र लगाए हुने भएकाले यो खोपमा पहुँच नभएका मानिसहरूका लागि निकै सुविधाजनक पनि मानिएको थियो ।
नेपालमा पनि गत पुष १ गते जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डाेज खोप आइपुगेको छ । तर, स्वास्थ्य मन्त्रालयले यसबारे केहि जानकारी प्राप्त गराएको छैन ।